इन्द्रेणीपोखरी माध्यामिक विद्यालयबाट दुईजना बुहारी एसईई परिक्षामा उतिर्ण

खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर ६ इन्द्रेणी पोखरी माध्यामिक विद्यालयबाट दुईजना बुहारीले एसईई उतिर्ण गरेका छन् । कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएका इन्द्रेणी पोखरीका बुहारीद्धय तारा राई र जत्ना राईले एसईई परिक्षा उतिर्ण गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुपागढी नगरपालिका वडा नम्बर ३ बाम्राङ माइति भएकी तारा राईले यस बर्षको एसईई परिक्षामा २.४६ जिपिए ल्याएर उतिर्ण गरिन् । उनको विवाह खोटेहाङ गाउँपालिका ६ इन्द्रेणी पोखरी होर्लुङ्छामा भएको हो । उनको एकजना छोरा छन् । उनि पनि इन्द्रेणी पोखरी माध्यामिक विद्यालयको कक्षा एकमा पढ्दै आएक छन् ।

यस्तै खोटेहाङ गाउँपालिका ६ इन्द्रेणीपोखरी होर्लुङछा गाउँमै विवाह गरेकी जत्ना राईले पनि यस पटक एसईई उतिर्ण गरिन् । कलिलो उमेरमै विवाह गरेको कारण पढ्न नपाएकी उनले २.५८ जेपिए ल्याएर एसईई पास गरेकी हुन् । उनको पनि छोरी अहिले कक्षा दुईमा इन्द्रेणीपोखरी माविमै अध्यनरत छन् ।

इन्द्रेणी पोखरीका दुईजना बुहारीसँगै यस पटक विद्यालयबाट जम्मा ८ जनाले एसईई परिक्षा उतिर्ण गरेको विद्यालयले जनाएको छ । उतिर्ण विद्यार्थीहरुलाई १९ गते विहिबार विद्यालयको एक समारोहको बिच बधाई तथा शुभकामना प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त राई, खोटेहाङ गाउँपालिकाका श्रोत शिक्षक मानबहादुर पौडेल लगायत अभिभावक तथा शिक्षकहरुले बधाई तथा शुभकामना प्रदान गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण श्री राईले जानकारी दिनु भयो ।