डम्बरसिं राई
खोटाङ — ‘लकडाउन सकियो, लघुवित्तका साहुहरू घरमै आउन सुरु गरेका छन्,’ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माकी मनकुमारी राईले भनिन्, ‘लघुवित्तको ऋण तिर्न नसक्दा गाउँभरि कोकोहोलो भएको छ ।’

स्थानीय पदम दाहालले भैंसीपालन व्यवसायका लागि लिएको ६० हजार रुपैयाँ ऋणको किस्ता बुझाउन नसक्दा भैंसीे नै उठाइएको सोल्माकी अञ्जना राईले बताइन् । बेलामा किस्ता र साँवा बुझाउन नसक्दा छिमेकी लघुवित्तले भैंसी नै उठाएको हो । त्यति मात्र होइन, बेलामा किस्ता नबुझाउँदा टेलिभिजन, काँसका बटुका, थालदेखि अन्य जिन्सी सामानसमेत उठाइएको राईको आरोप छ । ‘गाउँमा घरैपिच्छे लघुवित्तको ऋण छ,’ राईले भनिन् ।
छिमेक लघुवित्त वित्तीय संस्थाका प्रबन्धक किशोरप्रसाद चौधरीले भने लघुवित्तले सरसामान उठाएको नभई आफैंले बेचेर ऋण चुक्ता गरेको बताए । ‘हामीले भैंसी उठाएका होइनौं,’ चौधरीले भने, ‘उनी आफैंले बेचेर ऋण चुक्ता गरेका हुन् । योबाहेक मलाई केही थाहा छैन ।’ गाउँमा नौवटा लघुवित्तले ऋण लगानी गरेका छन् । ती संस्थाले सामूहिक जमानीमा १८ प्रतिशतसम्मले ऋण लगानी र बचत भने ६ प्रतिशतमा गरेको दिक्तेल–रूपापाकोट–मझुवागढी नगरपालिका–२ का वडाध्यक्ष हर्कबहादुर खत्रीले जानकारी दिए । हरेक घरमा धेरैजसो लघुवित्तबाट ऋण लिएकाले बैठक र भेलामै महिलाको दिन जाने गरेको उनले सुनाए ।

सामूहिक जमानीमा ऋण लगानी गर्ने भएकाले उठाउने बेला आफू–आफूमा झगडा हुने हुँदा सामाजिक विखण्डनसम्मको समस्या आएको खत्रीको भनाइ छ । ‘विभिन्न लघुवित्तले गाउँभरि ऋण लगानी गरेका छन्,’ उनले भने, ‘एउटाबाट लिएको ऋण तिर्न अर्को लघुवित्तमा ऋण लियो, फेरि त्यसलाई तिर्न अर्कोबाट लियो, यसो गर्दागर्दै गाउँका महिला हैरान भएका छन् ।’

लघुवित्तले कृषि, पशुपालन, व्यापार व्यवसाय, उद्योगलगायत विभिन्न शीर्षकमा ऋण दिने गरेका छन् । अनुगमन नगरी ऋण प्रवाह गर्ने भएकाले जोखिम बढेको हो । ऋण दिएर पनि अनुगमन नगर्दा झन् समस्या आएको स्थानीय सप्तमणि राईले बताए । प्रायः युवा विदेशमा रहेको र तिनका परिवारले ऋण लिएकाले बेलामा तिर्न नसक्दा पारिवारिक विखण्डनसमेत देखिएको उनको भनाइ छ । ‘श्रीमान् विदेशमा रहेका बेला श्रीमतीले लिएको ऋणको निहुँमा भएको झगडाले पारिवारमा विखण्डन आएको छ,’ राईले भने, ‘लगानीकर्ताले पैसा मात्र हेर्ने होइन, उसको पारिवारिक अवस्था पनि हेरेर लगानी गर्नुपर्‍यो ।’

जिल्लामा सञ्चालित लघुवित्तहरूले बचतकर्तालाई ठगी गरेको गुनासासमेत आएका छन् । आफूले जम्मा गरेको बचत माग्दासमेत नदिएको भन्दै प्रहरीमा उजुरी परेका छन् । दिक्तेलको बेसक्याम्पस्थित एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थामा जम्मा गरेको बचत आफूहरूलाई उपलब्ध गराइदिन प्रहरीमा उजुरी गर्नुपरेको बचतकर्ता शर्मिला विश्वकर्माले बताइन् । आफ्नो समूहले जम्मा गरेको बचत फिर्ता माग्दा माइक्रोफाइनान्सका प्रबन्धक भूपाल खड्काले उल्टै प्रहरी प्रशासन लगाएर पक्राउने धम्की दिएपछि उजुरी दिनुपरेको उनको भनाइ छ । साउन २१ मा उजुरीपछि साउन २२ गते दुवै पक्षको छलफलमा प्रबन्धक खड्काले गल्ती स्वीकार गरी माफी मागेर बचत फिर्ता दिने कागज गरेको विश्वकर्माले सुनाइन् । भूपाल खड्काले भने बचतकर्ताहरूले कार्यालयको टेबल ठोकेकाले प्रहरी प्रशासनको सहयोग लिन खोजेको दाबी गरे ।

लघुवित्तहरूले हिसाब पारदर्शी नगरेकोसमेत

बचतकर्ताको भनाइ छ । निर्धन उत्थान लघुवित्तबाट एक लाख ४० हजार ऋण लिएको र उक्त ऋण भाका नपुगी बुझाउन खोज्दासमेत भाकामै बुझाउनुपर्ने भन्दै बुझ्न नमानेको सोल्माकी अञ्जना राईले बताइन् । आफूले पसल गर्न उक्त ऋण लिएको उनको भनाइ छ । धितो राखेरै ऋण लिएपछि धितो उकास्न खोज्दा उक्त लघुवित्तले नमानेको राईको गुनासो छ ।

प्रायः पालिकाहरूमा समेत यस्ता गुनासा आएको प्रदेशसभा सदस्य रामकुमार राईले बताए । राज्यले साना उद्यमीहरूलाई लक्ष्य गरी सञ्चालन गरेको लघुवित्त कार्यक्रम लक्षित वर्गमा पारदर्शी हिसाबले सञ्चालन नभएको र यसको अनुगमन र नियमन हुनुपर्ने उनको धारणा छ । ‘राज्यको लगानीमा सञ्चालित वित्तीय संस्थाका कार्यक्रम पारदर्शी नभएको गुनासा आएका छन्,’ उनले भने, ‘सम्बन्धित निकायले यसको अनुगमन र नियमन गर्न जरुरी छ ।’

वित्तीय संस्था नाफामुखी मात्र देखिएकाले सच्चिनुपर्ने दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले सुनाए । जुन उद्देश्यले सञ्चालन हुनुपर्ने हो, त्यो अनुसार नभएकाले अब अनुगमन गरिने उनले जानकारी दिए । नगरक्षेत्रमा वित्तीय संस्था सञ्चालनका लागि दर्ता गरिनुपर्ने र नेपाल सरकारले तोकेको मापदण्डका आधारमा मात्र सेवा प्रवाह गर्नुपर्ने रिजालले बताए । जिल्लाका प्रायः सबै पालिकामा लघुवित्त सञ्चालनमा छन् । विभिन्न ठाउँमा लघुवित्तहरूको कार्यशैलीबारे गुनासा आएको र गैरकानुनी ठहरिए कारबाही हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । कान्तिपुर दैनिकबाट साभार