
भिम राई
जन्तेढुङ्गा । असारे विकासले सबैतिर कर्मचारी तथा नेताहरुलाई चटारो परिरहेका बेला जन्तेढुङ्गामा भने कर्मचारीहरुलाई आनन्द छ । योजनाहरुको काम बेलैमा सकाएर उनिहरु आरामले काम गरिरहेका हुन् ।
अन्य पालिका तथा विकासे अड्डाहरुमा कामको भ्याई नभ्याईको यो सिजनमा उनिहरु भने अर्को आर्थिक बर्षको कार्ययोजना बनाउ व्यस्त रहेका छन् । यस बर्षको अनुभवले अर्को बर्ष कुन समयमा के कार्यक्रमहरु गर्न सकिन्छ भन्ने पालिकाको कर्मचारीवृत्तमा छलफल भईरहेको जनाईएको छ ।
आर्थिक बर्षको अन्त्यसँगै योजनाको फरफराक गर्नमा प्राय सबै कर्मचारी तथा नेतहारुलाई सास्ती भईरहेको बेला जन्तेढुङ्गामा भने नेता पनि फुर्सद र कर्मचारीपनि फुर्सदमा छन् । आर्थिक बर्षको शुरुवात देखि नै कार्ययोजना निर्माण गरेर काम गर्दा यो सबै सम्भव भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए ।
हाल सम्म ९३ प्रतिशत भन्दा बढी कामहरु फर्छ्यौट गरिसकेका गाउँपालिकाका अध्यक्ष अरुणादेवि राई अहिले पालिकाले रोपेको आलु खन्नतीर व्यस्त रहेका छन् । पालिकामा अहिले फाट्टफुट्ट आउने सेवाग्राही आउने गरेका छन् ।
गाउँ गाउँमा पालिकाले चलाएका योजनाहरु सबै सम्पनन भईसकेका छन् । उनिहरुलाई योजनाको काम सक्न असार मसान्त नकुर्न पालिकाको कर्मचारी तथा पदाधिकारीले भनेका थिए ।
उसो त आर्थिक बर्षको शुरुवातमै बसेको कार्यपालिकाको बैठकले आर्थिक बर्षको जेठ १५ गते भित्र सबै कामको भुक्तानी दिईसक्ने कार्यतालिका बनाएको थियो । त्यही कार्यातालिकालाई पछ्याएर सबै योजनाको कामहरु बेलैमा सकाएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।
युवा कर्मचारीहरुको बाहुल्यता रहेको इच्छाशक्ति र पालिकाको जनप्रतिनिधीहरुको चासो र अनुगमनले समेत योजनाहरु बैलेमा किनारा लागेको पालिका अध्यक्ष अरुणादेवी राईले बताउँछन् । ‘अन्य पालिकाहरुमा के छ थाहा भएन हाम्रो पालिकामा भने अलिक व्यवस्थित बनाउन कार्ययोजना बनाएर काम गर्दा सकिने रहेछ भन्ने अनुभव रह्यो ।’ उनले भने, ‘आर्थिक बर्षको शूरुवातमै कार्यपालिका बैठक बसेर गरिएको कुन महिनामा के गर्न सकिन्छ भन्ने तालिका बनाएर काम गर्दा अनुगमन गर्नपनि सजिलो हुने रहेछ ।’
गाउँपालिकामा सबै कर्मचारीहरुको समेत उतिकै सक्रियता रहेको छ । ‘सबै कुरा टिम स्प्रीट नै त हो ।’ उपाध्याक्ष खेमबहादुर खड्काको भनाई छ । यस पटक पनि आर्थिक बर्षको शुरुवातमै केही टेण्डरहरु खुलाएर काम शुरुवात गर्ने योजना छ । पालिकाले गर्ने कामको बारेमा अख्तियारी कुरीरहनु पर्छ भन्ने आफुलाई नलाग्ने प्रमुख प्रशासकीय अधिकृत निरौलाको भनाई छ ।
यसरी समयमै योजना सम्झौता, विशेष अनुगमन, पटक पटकको ताकेता र भरसीलो प्राविधिक सहयोग गर्नसकेमा असारमा चटारो नपर्ने अनुभव गाउँपालिकाले गरेको छ ।