
भिम राई
जनयुद्धमा सहिद भएका आफ्ना दुईभाई छोराहरुको नाममा एक अभिभावकले विद्यालयलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन् । जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर ५ चिसापानी खुटाका गणेशबहादुर कार्कीले आफ्ना दुईछोराको नाममा बालोद्धय आधारभुत विद्यालयलाई ५ रोपनी जग्गा उपलब्ध गराएका हुुन् ।
शहिद कैलास कार्की र थिरबहादुर कार्कीको नाममा बुवा गणेश बहादुर कार्कीले विद्यालयलाई जग्गा उपलब्ध गराएका हुन् । कार्कीले आफ्नो मात्र जग्गाले विद्यालयलाई ठाउँ नपुग्ने देखेपछि छिमेकी सीता नेपालीको जग्गा समेत खरिद गरेर विद्यालयको नाममा दिएका छन् ।
पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कार्कीका छोराहरु कैलास कार्की र थिरबहादुर कार्कीलाई तत्कालिन शाहीसेनाले २०६० साल भदौ १७ गते हत्या गरेको थियो । घरमै बसीरहेका उनिहरुलाई भदौ १५ गते शाहीसेनाले समातेर लगिएको उनिहरुलाई १६ गते नै दोहोरो भिडन्तमा मारिएको समाचार रेडियो नेपालबाट प्रशारण गरेका थिए ।
आफ्नै मृत्युको समाचार सुनेका शहिदद्धय कार्की दाजुभाईलाई भदौ १७ गतेका दिन छितापोखरी नजिक टुवाखोलामा मारिएको थियो । मारिएका कैलास कार्की बालद्धय आधारभुत विद्यालयको शिक्षक समेत रहेका थिए । उनको भाई श्याम सुन्दर कार्की अहिलेपनि सोही विद्यालयमा शिक्षण पेसामा रहेका छन् ।
यो घटनालाई सम्झिरहेका कार्की परिवारले विद्यालयलाई आफ्नो गाँस काटेर जग्गा उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक मणिराम कोइरालाले बताएका छन् । ‘हाल चारकोठे पक्कि भवन बनेको जग्गा उहाँहरुले ने प्रदान गर्नु भएको हो ।’ कोइरालाले भने, ‘यो जग्गा नभएको भए भवन बनाउने ठाउँ नै थिएन ।’
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र गाउँपालिकाको लागत सहभागितमा भवन निर्माण भएको हो । भवन निर्माणसँगै हाललाई कक्षाकोठाको अभाव त देखिदैन तर व्यवस्थित र सुविधान सम्पन्न भने भईसकेका छैनन् ।
्उसो त २०३० सालमा स्थापना भएको यस विद्यालयको पक्कि भवन भन्नु यहि एउटा हो । अरु सबै ढुङ्गा माटोले बनाइएका भवनहरु छन् । कक्षा ८ सम्म पढाई हुने यस विद्यालयमा अहिले करिब दुईसय विद्यार्थीहरु अध्ययनरत छन् ।
विद्यालयमा पुग्दो विद्यार्थी संख्या भएपनि अन्य विद्यालयको तुलनमा शिक्षक संख्या अभाव छ । विद्यालयको कक्षा कोठाहरु अहिलेपनि धुलोमुक्त छैनन् । बर्खायाममा विद्यालयमा पानी छिरेर हिलो हुने र हिउँद याममा धुलो उड्ने गरेको प्रधानाध्यापक कोइरालाले बताए ।
जन्तेढुङ्गा गाउँपालिकाका उपाध्याक्ष खेमबहादुर खड्काले पनि यहि विद्यालयमा पढ्न भ्याएका थिए । विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा उपाध्याक्ष खड्काले यो विद्यालय बारेमा गम्भिर रहेको बताएका छन् ।
विद्यालयमा भएका छलफल र माग अनुसार विद्यालय परिसर खुल्ला रहेको र कक्षाकोठाहरु हिलाम्ये धुलाम्ये रहेकाले यो बर्ष दुईवटै कार्यक्रम राखिएको उपध्याक्ष खड्काले जानकरी दिए । ‘गाउँपालिका भित्रका विद्यालयहरुका लागि एकमुष्ट बजेटको व्यवस्थापन गरिएको छ ।’ उनले भने, ‘विद्यालयको नाम नै तोकेर योजनाहरु बाँडफाँड नभएकाले बुझाई कहिँ कहिँ समस्या हुनसक्छ । तर यसपाली बालद्धय आविको मर्मत पनि हुन्छ र घेराबार पनि लगाईन्छ ।