नेपालकै पहिलो खुर्पेटोको प्रतिमा खोटाङमा

खोटेहाङ, १४ असार ।
खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका ६ इन्द्रेणी पोखरीमा मगर समुदायको आस्थाको प्रतिक खुर्पेटो (घोरप्याक) को प्रतिमा स्थापना गरिएको छ । स्थानीय वडा सरकारको बजेटबाट खुर्पेटोको प्रतिमा स्थापना गरिएको हो ।

यस अघि व्यक्तिगत हिसाबले रिर्सोटहरुमा प्रतिमा स्थापना गरेको भएपनि सरकारको लगानीमा मगर सुमदायलाई सम्बोधन गरेर बनाईएको पहिलो खुर्पेटोको प्रतिमा खोटाङ्कै भएको नेपाल मगर संघले जनाएको छ । यस अघि अध्यक्ष नविन रोक्का मगरको कार्यकालमा सार्वजनिक रुपमा खुर्पेटोको प्रतिमाहरु बनाउने निर्णय भएको भएपनि कार्यन्वयन हुन नसकेको हो । सरकारी बजेटबाट सार्वजनिक स्थलमा पहिलो पटक खुर्पेटो स्थापना भएको नेपाल मगर संघका उपाध्याक्ष जीवन रोक्का मगरले पुष्टी गर्नु भएको छ । ‘मलाई यस अघि सम्म सरकारको लगानीमा सार्वजनिक स्थलमा रहने गरि खुर्पेटोको प्रतिमा स्थापना भएको जानकारी छैन ।’ रोक्का मगरले भन्नु भयो । ‘खोटाङमा आज उद्घाटन भएको प्रतिमा नै पहिलो हो ।’

खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राईले शनिबार उद्घाटन गर्नु भएको प्रतिमा वडा कार्यालयको रु पाँचलाख रुपैयाको लगानीमा निर्माण गरिएको हो । इन्द्रेणीपोखरीको बहुसाँस्कृति पार्कमा स्थापना गरिएको खुर्पेटोको प्रतिमाले जातीय साँस्कृतिक समभाव र सहिष्णुताको विकास गर्न मद्यत पु¥याएको अध्यक्ष राईले बताउनु भएको छ ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथी रहनु भएको राईले खोटेहाङ गाउँपालिका भित्र रहेका आम मगर समुदायको शिर उच्चो बनाउन तथा सबै भाषा धर्म र संस्कार संस्कृतिलाई साझा सम्पतीका रुपमा विकास गर्न गरिएको यो एउटा प्रयास रहेको बताउनु भयो । ‘बहुभाषिक तथा बहुसांस्कृतिक समाजमा बसोबास गर्ने हामीले नै सबै किसिमको आस्था विस्वासहरुलाई संरक्षण तथा संर्वद्धन गर्न पर्छ ।’ अध्यक्ष राईको भनाई रहेको थियो ।

कार्यक्रमका विशेष अतिथि रहनु भएको पालिका उपाध्याक्ष रुपेश राईले खोटेहाङ गाउँपालिका लाई साझा फूलबारीका रुपमा विकास गर्न वडाले शुरु गरेको प्रयासलाई सँधै साथ रहेको बताउनु भएको छ । पर्यटन प्रर्वद्धनका लागि संभावना बोकेको ईन्द्रणी पोखरीमा निर्माण भईरहेका संरचनाहरुले आन्तरिक तथा वाह्य पर्यटनलाई प्रर्वद्धन गर्नेमा उहाँको विस्वास रहेको छ ।

आफ्नो वडामा जातिय बाहुल्यताको हिसाबमा मगर समुदाय केही कम भएपनि समुदायको पहिचान स्थापित गर्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको खोटेहाङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वसन्त राईले बताउनु भयो । सरकार कुनै जातीय समुदाय विशेष नभएकाले सबैको पहिचानहरुलाई उतिकै सम्मान गर्न प्रतिमा स्थापनाका लागि सल्लाह दिएको वडा अध्यक्ष राईको भनाई रहेको छ ।

इन्द्रेणी पोखरीलाई बुहसांस्कृतिक पार्कका रुपमा विकास गर्नका लागि किरात समुदायको वाबु (चिण्डो), हिन्दु धर्मावलम्बीहरुको लागि मन्दिर, बालबालिकाहरुका लागि विभिन्न किसमको खेलौना जस्ता कुराहरु निर्माण गरिएको वडाअध्यक्ष राईले बताउनु भयो । इन्द्रेणी पोखरीलाई पर्यटकीय हबको विकास गर्नकालागि यी भौतिक संरचनाहरु निर्माण गरिएको उहाँको भनाई रहेको छ ।

खोटाङ जिल्लामा रहेका करिब दशहजार मगर समुदायको शिर उच्चो हुने किसिमको काममा तत्परता देखाएकोमा नेपाल मगर संघ एक नम्बर प्रदेश सदस्य दिर्घ मगरले वडा कार्यालय तथा प्रतिमा निर्माण समितिलाई धन्यवाद दिनु भएको छ । एक नम्बर प्रदेशका १४ वटै जिल्लामा पुग्दा समेत यस्तो किसिमको पहिचान झल्काउने प्रतिमा नभेटेको उहाँको भनाई थियो ।

नेपाल मगर संघ जिल्ला समिति खोटाङ अध्यक्ष युवराज मगर, इन्द्रेणीपोखरी माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण श्री राई लगायतले शुभकामना दिनु भएको कार्यक्रममा खोटेहाङ गाउँपालिकाको मुसमुसा क्षेत्रमा वसोवास गर्ने मगर समुदायका स्थानीय दलकुमार मगरले ऐतिहासिक जानकारी दिनु भएको थियो । आफ्नै भेषभुषामा सजिएका मगर समुदायका व्यक्तिहरुले सांस्कृतिक नृत्य हुर्रा नाच समेत प्रस्तुत गरेका थिए ।