‘कृषकसँग माओवादी केन्द्र’ कृषि कार्यक्रम केपिलासगढी ४ बाक्सिलामा

बाक्सिला । ‘कृषकसँग माओवादी केन्द्र’ कृषि कार्यक्रम अन्तरगत नेकपा माओवादी केन्द्र वडा कमिटि केपिलासगढी ४ बाक्सिला खोटाङले अकबरे खोर्सानीको बेर्ना वितरण शुरु गरेको छ । वडा कमिटिले नेकपा माओवादीसँग जोडिएका आम किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउन अकबरे खुर्सानीको विरुवा उत्पादन गरेर निशुल्क वितरण शुरु गरेको हो ।

स्थानीय अकबरे खोर्सानीको बेर्ना तयारी गरेको वडा कमिटिले बाक्सिलाको साविक वडा तथा टोलहरुमा रहेका प्रत्येक पार्टी सदस्यहरुलाई अनिवार्य खुर्सानी उत्पादन गराउने लक्ष्य सहित कार्यक्रम अगाडि सारेको हो । वडा पार्टी कमिटि सदस्य राममाया तामाङको जग्गामा बेर्ना उत्पादन गरिएको हो ।

नेकपा माओवादी केन्द्रका केपिलासगढी गाउँपालिका कमिटिका नेता तथा वडाबाट निर्वाचित पार्टीका जनप्रतिनिधीहरुको आर्थिक सहयोगमा वडाकमिटिले जनश्रमबाट बेर्ना उत्पादन गरेको छ । दुईसय ५० ग्राम रैथाने अकबरे खुर्सानीको वियाबाट लगभग ३५ हजार बेर्ना उत्पादन भएको वडा कमिटिका अध्यक्ष कोशीकुमार राईले जानकारी दिनु भएको छ ।

किसानहरुलाई पार्टी संगठनमा जोड्दै कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने योजना अन्र्तगत वडा पार्टी कमिटिले शुरु गरेको अभियान पालिकाको सबै वाडमा लैजाने तयारी नेकपा माओवादी केन्द्र केपिलासगढी गाउँपालिका कमिटिले गरेको छ ।