तीनसय बर्ष पुरानो साकेलाथान संरक्षणमा सोदेल किम खोटाङ

सुङ्देल/ केपीलासगढी गाउँपालिका वडा नम्बर ७ सुङ्देलमा तीनसय बर्ष पुरानो साकेला थान संरक्षण शुरु भएको छ । किरात कोयी÷कोयु राई सोदेल किम खोटाङको व्यवस्थापनमा रथमा रमालु साकेल थान संरक्षण शुरु भएको हो ।

सुङ्देलमा जन्मभई हाल बेलायत बस्दै आएका सुङ्देल सेवा समाजका किर्त बहादुर राई, आर एस एम युवराज राई, अगमसिँ राई लगायतको पहलमा प्राप्त आर्थिक सहयोगबाट साकेला थानको घेराबार शुरु गरिएको छ । बेलायतमा बस्ने अन्य सहयोगीहरुसँग हातेमालो गर्दै बेलायत (युके) बाट पाँचलाख ७० हजार रुपैँया आर्थिक सहयोग प्राप्त भएको सोदेल किमका जिल्ला सचिव ललिति चन्द्र राईले जानकारी दिएका छन् । सो रकमले साकेला थानको वरिपरि घेराबार पर्खाल निर्माणधिन रहेको राईले जनाएका छन् ।

यस्तै हाल हङकङ बस्दै आएका हितबहादुर राई, प्रकाश राई (सप्तेश्वर) लगायतका सहयोगिहरुबाट प्राप्त एकलाख ५०  हजार रुपैयाको लागतमा संयुक्त पाहुना घर (दनीकिम) तथा शौचालय निर्माण हुने राईले जानकारी दिएका छन् । जम्मा ७ लाख २० हजार रुपैयाको लागतमा उक्त संरचनाहरु निर्माण भइरहेकाे हाे ।

साकेला थान मर्मत संरक्षण गर्नका लागी अझै बेलायतबाट थप सहयोगकालागि आर एस एम युवराज राईको टिमले पहल गरिरहेको सचिव राईले जानकारी दिएका छन् ।

 

तीनसय बर्ष पुरानो साकेलाथानको उत्पति र विकासको बारेमा अध्ययन गरिरहका सोदेल किम खोटाङका सचिव राईका अनुसार थानको प्रवेशद्धार निर्माण गर्न स्थानीय विमल सिङ राईले ५० हजार रुपैया चन्दा सहयोग गरेका छन् । बैसाखे पुर्णिमाको पञ्चमी तिथिमा पुजा आजा गरिने साकेलामा गाउँ गाउँबाट भाकल फुकाउन पुजामा आउने गर्दछन् ।