दिप्रुङ चुईचुम्मा / गाउँ गाउँबाट अव प्राज्ञिक बहस र सिर्जनाहरु गर्न जरुरी रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बताएका छन् । दिप्रुङ चुईचुम्मा प्राज्ञ समाज खोटाङले आयोजना गरेको दुईदिने खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम बोल्दै कुलपति राईले यस्तो बताएका हुन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि रहेका राईले भाषा, साहित्य, संस्कृति, समाज शास्त्र, दर्शन शास्त्र, गित संँगीत, नाट्यकला तथा ललिलतकलाको काममा अव स्थानीय सरकारको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । उनले संघीय सरकारले नीतिगत कामहरु गर्ने, संरक्षण प्रर्वद्धनको कामहरु गर्ने भएपनि स्थानीय तहले यसको प्रयोग समेत गर्ने स्पष्ट नीति रहेको उनको भनाई रहेको छ ।
आज शुक्रबार भएको कार्यक्रमको पहिलो दिन श्रष्टा सम्मान तथा शुभकामना आदान प्रदानका क्रममा राईले नेपालमा संघीयता गणतन्त्रको स्थापनाले मात्र यो सम्भावना भएको बताए । उनले भने, ‘यदि लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले नलडेको भए आज प्रज्ञा प्रतिष्ठान दिप्रुङ चुईचुम्मा आउने थिएन ।’
कार्यक्रममा दिप्रुङ चुईचुम्माले जन्माएका राष्ट्रले चिनेका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । प्राज्ञ समाजले अग्रज श्रष्टा गीत तथा संगीतका महारथी बच्चु कैलास, अर्थविद तथा राजनीतिक विश्लेषक हरी रोक्का, पूर्व शसस्त्र प्रहरी बलाका शसस्त्र प्रहरी महानिरक्षक सनतकुमार बस्नेत, एमडिजिपी डा कृष्णकुमार राई (केके), राजनीतिज्ञ तथा साहित्यकार विष्णु आभुषण, साहित्यकार तथा समालोचक नगेन्द्रराज रेग्मि, समाजसेवि शिक्षा विद जयकुमार राई, साहित्यकार तथा प्राध्यापक डाक्टर कैलाश राईलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी, प्राज्ञ सदस्य अमर न्यौपाने, दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई, प्राध्यापक विष्णु ज्ञावली, लगायतले सम्मानित व्यत्तित्वहरुलाई शुभकामना तथा बधाई दिएका छन् । सम्मानित हुने व्यत्तित्वहरुले आ–आफ्नो भोगाई तथा अनुभव समेत राखेको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक कार्यक्रम समेत भएको छ ।
राष्ट्रव्यापिक खुल्ला कवितामा आएका कविताहरु मध्य १५ वटा कविता छनौटमा परेको आयोजकले जानकारी दिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकाको सहयोगमा आयोजना भईरहेको कार्यक्रमको सभापतित्व प्राज्ञ समाजका अध्यक्ष नरेन्द्र निर्विकार र संचालन आस्था कोपिलाले गरिरहेका छन् । कार्यक्रमको दोस्रो दिन चैत्र ३० गते प्रतियोगि कविहरु सहित कविता कन्र्संट हुने आयोजकले जनाएको छ ।