
खोटेहाङ । ‘खोटाङ जिल्लामा मात्र भएका किरात राईहरु मध्येको पुमा, तिलुङ, कोयी, दुमी भाषाहरु अब जोगाउन सकिएन भने त्यो विश्वबाट हराउने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी बताएका छन् । खोटेहाङ प्रज्ञा प्रतिष्ठान खोटाङले संचालन गरेको दुईदिने साहित्य संगोष्ठि तथा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
खोटेहाङ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा स्थानीय भाषा, साहित्य, कलाहरुलाई सिर्जनात्मक हिसाबले प्रस्तुत् गर्न सहजिकरण गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. सुवेदी, नेपाली साहित्यमा मदन पुरस्कार विजेता तथा प्राज्ञ साहित्यकार अमर न्यौपाने, साहित्यकार समालोचक तथा कवि बिष्णु ज्ञावलीले प्रशिक्षणको सहजीकरण गर्नु भएको छ । भर्खरै सिर्जनात्मक लेखनमा लागेका पुस्ताकालागि सिकाईको शुरुवात गरिएको कार्यक्रममा सहभागिहरुले आफ्नो रचना समेत वाचन गरेका छन् ।
कार्यक्रमको पहिलो दिन साहित्यका विधाहरुको परिचय र लेखन कला सम्बन्धि छलफल चलाईएको छ । नेपाली साहित्यमा गीत, कविता, कथा, उपन्यास, निवन्ध लगायतका संरचनाहरुका बारेमा परिचय दिएर शुरु भएको प्रशिक्षणमा लेखन शैलीको बारेमा प्रशिक्षित गरिएको हो ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृति देश भएकाले यसभित्रका वाङमयहरुको संरक्षण, प्रर्वद्धन, प्रयोग गर्न सक्नु पर्ने प्रशिक्षणका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा सुवेदीले सुजाएका छन् । उनले साहित्य अहिलेका चलन चल्तिमा रहेको नेपाली भाषामा मात्र हुन्छ भन्ने मान्यता भन्दा माथि उठ्नु पर्ने बताए ।
कार्यक्रममा डा. सुवेदीले नेपालमा संघीय सरकारको मातहतमा तीनवटा प्रज्ञा प्रतिष्ठानहरु रहेको बताउँदै स्थानीय तहमा बनेको प्रतिष्ठानले तीनवटै प्रतिष्ठानको काम गर्नुपर्ने नीति रहेको सुझाएका छन् । उनले नेपाल प्रज्ञा प्रतिष्ठान, नाट्य तथा संगीत कला प्रतिष्ठान र ललितकला प्रतिष्ठानको काम एक्लैले गर्न केही चुनौती र केही अवसरहरु रहेको बताए । ‘यस क्षेत्रमा काम गर्न उत्सकता, जिज्ञासा र प्रतिवद्धताको खाँचो रहेको छ । स्थानीय प्रतिष्ठानले तदारुकताका साथ काम गर्ने हो भने सहकार्य निरन्तर रहन्छ ।’ उनले भने, ‘अब प्राज्ञिक क्षेत्रमा काम नगरे भावि पुस्ताका लागि हामिले दिने केही कोशेली बाँकी रहने छैन ।
कार्यक्रमको दोस्रो दिन प्रशिक्षणमा सहभागी कविहरुले आफ्ना सिर्जनाहरु सुनाउने र प्रतिक्रिया लिने कार्यक्रम भएको छ । नविन कविहरुको सिर्जना सुनेर प्राज्ञ कवि तथा समालोचक बिष्णु ज्ञावलीले सुझाव र प्रतिक्रिया दिएका छन् । उनले कविता सरल जस्तो देखिने सबै भन्दा अफ्ठ्यारो विधा रहेको बताउँदै सिर्जनात्मकता भनेको जति फैलाउन सकियो उति राम्रो हुने बताएका छन् ।
यस्तै लेखन अभ्यासकै क्रममा वाचन गरिएको कथामाथी टिप्पणी गर्दै साहित्यकार अमर न्यौपानेले आख्यान लेख्नु कवितामा बहकिनु जस्तो नभई यर्थातताको नजिक आफ्ना पाठकलाई डो¥याउन सक्नु पर्ने बताए । कतिपय तथ्य र तथ्यांकहरुलाई जस्ताको तस्तै राखेर पाठकलाई रिझाउन सकेमा सफल भईने आफ्नो अनुभव समेत उनले सुझाएका छन् ।
कार्यक्रममा कवि, सुमन खड्का, भिम राई (माक्पाली कान्छा), कृष्ण श्री राई, देवराज सापकोटा लगायतले आफ्नो रचना प्रस्तुत गरेका छन् । कार्यक्रम खोटेहाङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र नाराथुङ्गेको कविता सहितको सभापतित्वमा समापन भएको हो ।