काठमाडौं । राजावादी समूहले गत १५ चैतमा तिनकुनेमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक पत्रकारसहित २ जनाको ज्यान गयो । प्रहरीले भिड नियन्त्रणमा लिने क्रममा गोली चलाउँदा २० जना घाइते भए । आन्दोलनकारीले घरमा आगजनदेखि भाटभटेनीमा लुटपाटसम्म मच्चाए ।

सोही घटनामा खोटाङका डा. राजकुमार राई र भगवती रोका पक्राउ परेका छन् । राई यसअघि खोटाङमा नेपाली कांग्रेसका नेता र पछिल्लो समय रास्वपामा रहेका थिए । रास्वपाले विज्ञप्ति नै जारी गरेर उनले तीन महिना अघि नै पार्टी परित्याग गरिसकेको उल्लेख गरेको छ ।

अमेरिकामा पिएचडी सम्पन्न गरिसकेका रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व संयोजक समेत रहेका राईलाई भाटभटेनीमा रक्सी चोरेको आरोपमा पक्राउ गरिएको भनेर विभिन्न अनलाइन मिडियामा उल्लेख गरिएको पाइएको छ । सामाजिक सञ्जालमा हिजाेआज पनि उनको चर्चा परिचर्चा हुने गरेको छ ।

रक्सी चोरीको आरोप ?
सामाजिक सञ्जालहरुमा आन्दोलन भएको १५ चैतका दिन डा. राई जस्तै देखिने व्यक्तिले रक्सी बोकेर हिडिरहेको तस्बीरहरु देख्न सकिन्छ । त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

थाहाखबरका अनुसार उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ। डिसीनेपालले पनि भाटभटेनीमा रक्सी चोरेको आरोपमा उनी पक्राउ परेको उल्लेख गरेको छ । केही मिडियाले रक्सी चोरेको आरोप लगाए पनि ती मिडियाहरुले यसको पुष्टि भने गरेको पाइदैन ।

के छ प्रहरीको आरोप ?

तीनकुनेको घटनापछि प्रहरीले ४ घटनामा संलग्न चार दर्जन भन्दा बढी पक्राउ गरी अनुसन्धान गरीरहेको छ । प्रहरी परिसर काठमाडौंले जारी गरेको एक विज्ञप्तिमा ४१ जनालाई पक्राउ गरी म्याद गरेर अनुसन्धान भईरहेको जनाएको छ । त्यसमध्ये ११ जनलाई राज्य विरुद्धको कसूर र संगठित अपराध सम्बन्धी कुसर अन्तर्गत पक्राउ गरेर म्याद थप गरेको छ ।

यसैगरी, ४१ जनलाई भने अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा अघि बढाएको छ । सोही ४१ जना मध्ये डा. राई पनि एक हुन् ।

के भन्छ प्रहरी ?
काठमाडौं प्रहरी परिसरले भाटभटेनीमा भएको लुटपाटमा उनको संलग्नता देखिएको जनाएकाे छ । ‘हो, उहाँको लुटपाटमा संलग्नता देखिएको छ । लुटपाटमा उक्साउने काममा उहाँको संलग्नता देखिन्छ ।’ प्रहरीका एक अधिकृतले भने ।

प्रहरीले राजकुमारको लुटपाटमा संलग्नता देखिएको जनाए पनि रक्सी चोरेको विषयमा भने स्पष्ट जवाफ दिएको छैन । रक्सी नै चोरेको विषयमा त ठ्याक्कै भन्न सकिएन । अहिले ठ्याक्कै उनले रक्सीलगायत सामान लुटपाट गरेको यकिन गर्न नसकिए पनि उनले लुटपाटलाई प्रोत्साहन हुने गरी उक्साएको स्पष्ट देखिन गएको छ । तीनकुने घटनामा उहाँको संलग्नता देखिएर नै पक्राउ गरिएको हो ।’ ती अधिकारीले भने । प्रहरीले सिसी क्यामेरामा राईले भिडलाई उत्तेजित बनाउने कार्यमा संलग्न रहेको देखिएको दाबी गरेको छ ।

के भन्छन् राई ?
प्रहरीसमक्ष राईले आफूलाई फसाउन खोजेको बयान दिएका छन् । एक प्रहरी अधिकृतका अनुसार उनले भाटभटेनीको लुटपाटमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् । उनले प्रहरीसमक्ष आफूलाई फसाउन खोजेको बताउने गरेका छन् ।
आन्दोलन अघि भने राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आन्दोलनमा सहभागी हुन अपिल गरेका थिए भने आगजनी भएपछि भिडलाई उत्तेजित बनाउने किसिमका स्टाटसहरु अपडेट गरेको पाइएको छ ।

के हुन सक्ला ?
डा. राईले रक्सी नै चोरेको विषय अहिले पनि स्पष्ट हुन सकेको छैन । उनले भिडलाई उत्तेजित बनाउने गरी सामाजिक सञ्जालमा लेखेको, कार्यक्रममा उपस्थित भएर भिडलाई उत्तेजित बनाएको तथा भाटभटेनी लगायत ठाउँमा पुगेर लुटपाट तथा आगजनी जस्ता कार्य गर्न प्रोत्साहन गरेकाे क्रियाकलापमा सक्रिय रहेको भने पाइएकाे छ । विभिन्न घटनाक्रम र सिसि क्यामेरामार्फत यस्तो कार्यमा संलग्न पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा राखेर अहिले पनि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले यस विषयमा अदालतमा मुद्दा दर्ता गर्ने क्रममा के कस्ता आधार प्रमाण पेश गर्छ त्यसपछि यस विषयमा थप स्पष्ट हुने देखिन्छ ।