काठमाडाैं । काठमाडाैं-खाेटाङ जाेड्ने सडक दशैं अघि नखुल्ने देखिएकाे छ । तीन दिनको वर्षापछिको बाढीपहिरोले सबैभन्दा बढी प्रभावित भएको बिपी राजमार्गमा दुई हजार ५० मिटर सडकखण्ड बगाएको छ । रोशीदेखि नेपालथोकसम्मको खण्डमा विभिन्न ठाउँमा पहिरोले सडक बगाएको र उक्त सडक बनाउन दशै अघि सम्भव नदेखिएकाे खबर आजकाे नयाँ पत्रिकाले छापेकाे छ ।

समाचार अनुसार रोशीदेखि नेपालथोकसम्मको सडकखण्ड करिब ३० किलोमिटर छ । त्यसमध्ये दुई हजार ५० मिटर सडकखण्डको कुनै नामोनिसाना छैन । यो अद्यावधिक तथ्यांक हो । यसअघि आइतबारको तथ्यांकमा त्यहाँ १४ सय मिटर सडक बाढीले बगाएको भनिएको थियो । सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले दुई किलोमिटरभन्दा बढी सडक बगाएको ठाउँमा ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले दसैँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नरहेको बताए । ‘बिपी राजमार्गमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको छ ।

मौसमले साथ दिएको अवस्थामा मंगलबार भकुन्डेबेँसी–रोशी खण्डको अवरोध हटाउनेछौँ । बर्दीबासदेखि नेपालथोकसम्मको सडक त आइतबार नै खुला भइसकेको छ । धुलिखेल–भकुन्डेबेँसी पनि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । तर, रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नामोनिसाना नै नभएकाले दसैँअघि सञ्चालनमा ल्याउन सम्भव देखिँदैन,’ उनले भने, ‘त्यहाँ यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्छ । तर, पछिल्लो वस्तु परिस्थितिअनुसार दसैँअघि नयाँ ट्र्याक खोल्न चुनौती छ । तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने आशा छ । सडक नै पुनस्र्थापना गर्नुपर्ने भएकाले थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाएर काम गर्नुपर्छ ।’ सडक पुनस्र्थापनामा कति बजेट आवश्यक पर्छ भनेर पनि अहिले यकिन नभएको उनले बताए ।

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार कालढुंगा र डालाबेँसी खण्डमा पाँच–पाँच सय मिटर, चिउरीवास खण्डमा तीन सय मिटर, एक नम्बर पुल परिसरमा २५० मिटर, नार्कबजारमा १५० मिटर, चौकीडाँडामा १०० मिटर, दाउन्नेमा १०० मिटर, माम्ती खोलामा १०० मिटर र चारसय बेँसीमा ५० मिटर सडक बाढीले बगाएको छ । रोशी खोलाको पुल पनि बाढीले बगाएको छ ।

दुई हजार ५० मिटरको ट्र्याकसमेत नरहेको रोशी–नेपालथोक खण्डको दूरी ३० किलोमिटर छ । त्यहाँ अहिलेसम्म निर्माण सामग्री तथा मेसिन पु¥याउन नसकिएको उपमहानिर्देशक अर्यालले बताए ।