खोटाङ । पाँच वर्षभित्र सक्ने गरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले ०७४ माघमा शिलान्यास गरेको खोटाङ दिक्तेलको ‘ला ज्यालो वाङ थोप’ अलपत्र परेको छ ।

कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बाको काम उपभोक्ता समितिमार्फत थालिएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । तर समयमै काम नसकिँदा गुम्बा निर्माण अलपत्र परेको हो ।

करिब २१ करोड रुपैयाँ लगानीमा निर्माण सुरु गरिएको गुम्बाको अहिलेसम्म जगमात्र ठडिएको छ । वर्ष दिनअघि (विसं २०८० भित्र) नै निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाँटकाँट छैन ।

आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको १५ लाख रुपैयाँ बजेटमा फाउन्डेसनको काम भएको र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको ९९ लाख रुपैयाँ बजेटबाट ग्राउन्ड फ्लोर र पिलरको डन्डी ठड्याइएको थियो ।

प्रदेश सरकारले एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत एक करोड रुपैयाँभन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले ९९ लाख रुपैयाँको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनी उपभोक्ता समितिले फरफारक गरे पनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए । गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि विसं २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाका काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए । ‘उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गर्‍यो’, उनले भने, ‘जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ, अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन, थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ ।’ रासस