काठमाडौं । काठमाडौंबाट पोखराका लागि टेक अफ गरेको केही छिनमै बुधबार दुर्घटनाग्रस्त बनेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये कोशी प्रदेश अन्तर्गत विराटनगरका ३ जना रहेका छन् । निधन हुनेमा विराटनगरका सुशान्त कटुवाल, अश्विन निरौला र सागर आचार्यको मृत्यु भएको हो ।
कटुवाल विमानको को–पाइलट, निरौला इन्जिनियर र आचार्य सेफ्टी चिफ हुन् ।
उक्त विमान दुर्घटनामा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व अध्यक्ष तथा समाजवादी प्रेस संगठनका सस्थापक उपाध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा, ज्वाई मनुराज शर्मा र नाती अधिराज शर्माको पनि निधन भएको छ ।
विमानमा एक विदेशीसहित १९ जना सवार थिए । जसमध्ये पाइलट ३७ वर्षीय मनिष शाक्यबाहेक १८ जनाको मृत्यु भएको छ । पाइलट ३७ शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।
बुधबार बिहान ११ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको थियो ।