काठमाडौं । जिल्ला अस्पताल खोटाङको ५० शैयाको भवन निर्माणको काम रोकिएको छ । गत पुस २४ गतेसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेमा तीन महिनादेखि काम नै हुन सकेको छैन ।
भवन निर्माणको ठेक्का निर्माण कम्पनी श्याम सुन्दर रामसागर नेपाल फूलबारी जेभी काठमाडौंले लिएको थियो । गत पुसदेखि अस्पताल भवन निर्माणको काम नै ठप्प रहेको छ । जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नती गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुशार १५ शैयाको जिल्ला अस्पतालका लागि ५० शैयाको भवन निर्माण सुरु गरिएको थियो ।
निर्माण कम्पनीले ३० महिनामा सक्नेगरी २०७८ असार २४ गते अस्पताल भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगामार्फत प्राप्त २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ (भ्याट सहित)मा अस्पताल भवनको ठेक्का लागेको हो ।