10.1 C
Kathmandu
Wednesday, February 18, 2026
Home खोटाङ समाचार हस्पिटलबाट नेपाल फर्कन खोजिरहेका रुसी सेनामा आबद्ध खोटाङका घाइते रविन राई

हस्पिटलबाट नेपाल फर्कन खोजिरहेका रुसी सेनामा आबद्ध खोटाङका घाइते रविन राई

काठमाडौं । राम्रो अवसरको खोजीमा थिए पूर्वी पहाडी जिल्ला खोटाङ चिसापानीका रविन राई । उनी साथीहरुको संगतसँगै राम्रो कमाई हुने र सुखद भविष्य जिउने आशामा रुस पुगेर रुसी सेनामा भर्ना भए ।

रुसी सेनामा भर्ना भएर राम्रो कमाउने र सुखद भविष्य जिउने सपना बुनेर त्यहाँ पुगेका रविन अहिले भने हस्पिटलमा घाइते अवस्थामा छन् । रुस युक्रेन युद्धमा युक्रेन पक्षको आक्रमणबाट घाइते भएका उनी हस्पिटलमा उपचाररत् छन् ।

करिब २६ वर्षका रविन अहिले नेपाल आउन चाहे पनि रुसी सेनाले आउन नदिएका कारण रोकिएर बसेका छन् । रविनकी बहिनी सिला राईले दाई नेपाल आउन प्रयास गरेपनि आउन नदिएको भन्दै फर्काउनका लागि पहल गरिदिन नेपाल सरकारसँग आग्रह गरेकी छिन् ।

रविनकी बहिनी राई ।

‘दाई घाइते भएर अहिले हस्पिटलमा हुनुहुन्छ, नेपाल आउन प्रयास गरेपनि आउन दिएको छैन । सरकारले दाई रविन लगायत नेपाल आउन चाहनेका लागि पहल गरिदिओस् भन्न चाहन्छु’ उनले हाम्राेखाेटाङ डटकमसँग भनिन् ।

हस्पिटलमा रहेका रविनसँग परिवारको कहिलेकहीँ कुरा हुने गरेको छ । उपचारपछि फेरि युद्धमा लैजाने त्रास परिवारमा रहेको छ । सरकारले पहल गरिदिएमा उनीहरु नेपाल फर्कन सक्ने भन्दै परिवारले सरकारलाई पहल गरिदिन आग्रह गरेको छ । *सिला बहिनी हुनुपर्नेमा दिदी भएकाेमा सच्याईएकाे छ – सम्पादक