खोटाङ, ८ कार्तिक । खोटाङमा पहिलोपल्ट व्यवसायीक कृषि पेशाको सुरुवात गरेका बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईको निधन भएको छ । 
परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यवसायीक कृषि खेतीको सुरुवात गरेकामा तत्कालिन राज्य व्यवस्थाको राजाकाजी मुद्धा समेत झेलेका राईको ९१ वर्षको उमेरमा निधन भएको हो । 
बुबा अम्बरबहादुर राई र आमा जमुना राईको कोखबाट नौ छोरीपछि १९८२ साल कार्तिक १३ गते एक्लो छोरोकारुपमा पर्खनबहादुरको जन्म भएको थियो । ‘अलैंचीका पिता’का रुपमा सम्मानित राईको शनिबार आफ्नै घरमा निधन भएको नाती संग्राम राईले जानकारी दिनुभयो । उहाँको आईतबार परम्परा अनुशार दाहसंस्कार गरिने पारिवारले जनाएको छ । 
जिल्लामा पहिलोपल्ट अलैंचीको व्यवसायीक खेती सुरु गरेकै कारण पर्खनबहादुरलाई २०६३ सालमा कृषि तथा सहकारी मन्त्रालयले ‘अलैंचीका पिता’कारुपमा सम्मान गरेको थियो । अलैंची र चिया रोप्न, माछा पाल्न नपाइने जमानामा उहाँले रातका समयमा समेत लाल्टीन बालेर खेतीपातीका काम गरेर प्रसिद्धि कमाउनु भएको छ ।