कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु दुई हजार ४०० ले वृद्धि भएको छ ।
आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।