
काठमाडौँ — कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने ।
मन्त्री खतिवडाले स्वास्थ्य सुरक्षा र संक्रमणको जोखिम भने कायमै रहेको बताए । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन, सामाजिक दूरी कायम राख्न, मास्क र सेनिटाइजर प्रयोग गर्न सबैमा आग्रह गरेका छन् । सरकारले लकडाउन लागू गर्दा मुलुकमा दुई जना मात्र कोभिड–१९ संक्रमित थिए । मंगलबार बेलुकीसम्म संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । यसबीचमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । १२ हजार ४ सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा कोरोना संक्रमण बढी देखिएर घट्दै गए पनि भारतमा संक्रमित भेटिने क्रम बढिरहेको छ । खुला सीमा भएकाले नेपाल जोखिममै रहने देखिएको छ । त्यसैले सरकारले नेपाल प्रवेश गर्ने सबै बिन्दुमा यात्रुको आवागमनलाई साउन ३२ गतेसम्मै रोक लगाउने निर्णय गरेको छ । तर मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार असहज परिस्थितिमा पनि स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई भित्र्याउन सहजीकरण गर्ने र मालसामानको ढुवानी व्यवस्था यथावत् रहने छ ।
यातायातमा जोरबिजोर प्रणाली र सरकारी कार्यालयमा दुई सिफ्ट सेवा बुधबारबाट नहुने भएको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । चैत ७ गतेदेखि आन्तरिक र चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द छ । जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेर साउन १५ देखि होटल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने छ । सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला गर्न भने पाइने छैन । साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय सञ्चालन गर्न पाइने छ ।
भदौ १ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी तोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान गर्न पाइने छ । अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल पनि भदौ १ गतेबाट सञ्चालन गर्न पाइने भएको छ । त्यही दिनबाट विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको कान्तिपुरमा खबर छ ।