काठमाडौं । प्रदेश नम्बर एकको उत्तरी भेगका चार जिल्लाका लागि ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर बनाउन माग गर्दै विभिन्न सांसदसहितको टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग भेट गरेको छ ।

प्रदेश १ को हाल रहेको होल्डिङ सेन्टर सुनसरी चतरा टाढा भएको कारण सोलु, ओखलढुंगा, खोटाङ र उदयपुरको उत्तरी भेगको लागि ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर तुरुन्तै कार्यान्वयन गर्न मन्त्री ढकालसँग माग गरिएको हो ।

खोटाङका सांसद विशाल भट्टराईसहित सांसदहरु सुरविर राई, यज्ञराज सुनुवार, उत्तम बस्नेत तथा गाउँपालिका अध्यक्ष असिम राईलगायतले मन्त्रीसँग छलफल गरेका हुन् । मन्त्री ढकालले होल्डिङ सेन्टर तुरुन्तै कार्यान्वयन गर्न प्रतिवद्धता जनाएका छन् ।