खोटाङ साउन–६,  कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका खोटाङका युवा अभियान्ताहरुले एक हजार भन्दा बढि नागरिकको निःशुल्क स्वास्थ्य जाँच गराएको छ । कोरोना भाईरसको महामारी वढेसँगै क्रियाशील चार युवाको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बिभिन्न ठाँउमा एक जना स्वास्थ्यकर्मी सहित शिबिर सञ्चालन गरेर एक हजार १ सय २९ जना स्थानीय नागरिकहरुको स्वास्थ्य जाँच गरेको हो ।

‘युवा जागरण कोरोना नियन्त्रण अभियान’ नामवाट क्रियाशील युवाहरुले नगरपालिकाको दोर्पाचिउरीडाँडा, जालपा, निर्मलीडाँडा, पाथेका, बुइपा लगायतका स्थानमा शिविर सञ्चालन गरेका थिए । अभियान्ताहरुले बुवालुङ, बाम्राङ, हुर्लुङ मुढे, खार्मी, नुनथला, खाल्ले र महुरेमा स्वास्थ्य सम्बन्धी सचेतनामुलक शिबिर सञ्चालन गरेको अभियानका व्यवस्थापक राजु आचार्यले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य जाँचका क्रममा स्थानीयलाई पाँच लाख ५० हजार बराबरको औषधि वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

युवा जागरण कोरोना नियन्त्रण अभियानले व्यक्ती तथा संस्थाबाट सहयोग उठाएर कोरोना विरुद्दको सचेतनामुलक अभियान चलाएको जनाएको हो । ५२ व्यक्ती र पाँच संस्थाबाट प्राप्त भएको ९ लाख ८१ हजार रकमबाट १० हजार थान मास्क, ३० थान एन नाइन्टीफाईभ मास्क, सय एमएलको २ सय ८७ वटा ह्याण्ड सेनीटाइजर, पाँच सय एमएलको ५३ वटा ह्याण्ड सेनीटाइजर वितरण गरिएको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो ।

यस्तै, २ थान थर्मल गन, १ हजार १ सय ९३ वटा सावुन, सय थान सर्जिकल पञ्जा, एक हजार २ सय २३ थान टप्स ग्लोव्स, १२ थान हेयर क्याप र २७ काटुन प्रशोधिन पानी वितरण गरिएको जनाइएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने लक्ष्यका साथ युवा जागरण कोरोना नियन्त्रण अभियानले गत जेठ ११ गतेदेखि नगरपालिकामा सचेतनामुलक गतिविधि सञ्चालन सुरु गरेको जनाएको छ ।

युवा जागरण कोरोना नियन्त्रण अभियानले लकडाउनको मारमा परेका स्थानीयलाई एक हजार चार सय केजी चामल, पाँच सय केजी दाल र २४ कार्टुन चाउचाउ प्रदान गरेको जानकारी दिएको छ । अभियानका क्रममा कुल ११ लाख ९४ हजाहर ९ सय ४७ रुपैयाँ खर्च भएकामा अझै ३ लाख ४० हजार रकम अपुग भएको अभियानका संयोजक कविराज रिजालको भनाई छ । सामान्य स्वास्थ्य जाँचका साथै विदेशबाट आएका स्थानीयलाई क्वारेन्टीनमा पु¥याउन समेत सहयोग गरेको संयोजक रिजालले जनाउनुभयो ।

युवा जागरण कोरोना नियन्त्रण अभियानमा रिजाल, आचार्य, डाक्टर जनार्दन खकुरेल, पेम्बा तामाङ र सुरेस दाहाल सक्रिय छन् ।