साउन–६ खोटाङ
(हङकङमा सम्मान ग्रहण गर्दै सागर )
‘एक पल पनि नसम्झने, त्यो मायाँ मरेर के भो र,
विछोडको वेला दुई थोपा आँशु, झरेर के भो र…!’
यही स्थायी छिचोल्दै वनेको गीतमा संयोजित शब्द जस्तै संगीत, गायन र एरेजमेण्टको पनि सुन्दर तादम्यता रहेको पाईन्छ । यस गीतसँगै आधुनिक गायनमा खुव मीठो गला खुलाउने खोटाङका युवा गायक सागर संसार राईको प्रशंसा र चर्चा छोटो समयमा नै थप उकालिएको छ ।
भिडियो सहित हालैै मात्र सार्वजानिक भए पनि यो गीतमार्फत २०७२ सालमा रेडियो नेपालले आयोजना गरेको खुला राष्ट्रव्यापी गायन प्रतियोगितामा उनै गायक सागरले दोश्रो स्थान हात पारिसक्नुभएको छ ।
गोपालचन्द्र राईको शब्द तथा विक्रम राईको संगीतमा सजिएको ‘रुँदा–रुँदै हाँसेको मान्छे ..’ वोलको गीत केही दिन अघि सार्वजानिक भएको हो । गीत सार्वजानिक भएसँगै सागरलाई ‘आधुनिक गीत गाउनकै लागि जन्मिएको गायक’ भनेर उपमा दिन थालिएको छ ।
सागरको गायनवारे सामाजिक सञ्जालमा देशविदेशवाट पोष्ट भएका थुप्रै सकरात्मक प्रतिक्रियाहरु पाईन्छ । सागरको स्वरमा रहेको यस गीतवाट स्थापित तथा पुराना गायकहरुको तिर्सना मेट्न सकिने खोटाङका गायक देवकुमार राईले जनाउनुभयो । उहाँले दोहो¥याई–दोहो¥याई यस गीत सुनिरहेको समेत खुलाउनुभयो । यस सदावहार गीतलाई प्राय : सवै उमेर समुहका संगीतप्रेमीहरुले कुनै पनि माध्यमवाट सुनिरहेको संगीतपारखीहरु सुनाउँछन् ।
हुन त सागर संसार राईले यसअघि पनि गायनमा अव्वल वनी देशविदेशका विभिन्न स्टेजहरुमा वाहवाही पाईसकेका छन् ।
उहाँले २०७१ सालमा पनि रेडियो नेपालकै गायन प्रतियोगितामा दोश्रो स्थान नै लिनुभएको थियो । यस्तै, राईले नेपाली चलचित्र ‘प्रेमगीत’को कभर गीत प्रतियोगिता, सुम्निमा कल्चर एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको यलम्वर संगीत प्रतियोगितको दोश्रो श्रृंखला लगायतका गायन प्रतियोगिताहरुमा प्रथम उपाधी चुमिसक्नुभएको छ ।
उहाँको आवाजमा दर्जनौं गीत रेकर्ड भई चर्चा पाइसकेका छन् । सागरको स्वरमा रेकर्ड भई ‘चलचित्र प्रेमगीत–२’ मा समावेश ‘न त हाँस्न नै सकेँ,न त रुन नै सकेँ..’वोलको गीत अझै पनि चर्चामा छ । यस्तै, ‘कता कता देखे जस्तो..’, ‘गगनचुम्बी टेम्के..’ ‘तिमीलाई मनको कुरा..’,‘वर्ष दिनको..’, ‘डुवेर शंका नगर.’, ‘के भयो सानु…’, ‘चरी जुरेली..’ ‘वग्न खोज्दा..’ लगायतका गीतहरु श्रोता तथा दर्शकले रुचाएका सागरका गीतहरु हुन् ।
ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक ‘रुँदा–रुँदै..’ वोलको गीति भिडियोमा लक्ष्मी वर्देवा र जीवन भट्टराईको अभिनय देख्न सकिन्छ । कलाकारद्वयकै निर्देशनमा निर्मित भिडियोका लागि वुद्द थापाको क्यामेरा र विष्णु खड्काको सम्पादन रहेको छ । गीतकार गोपालचन्द्रकै पहलमा निर्माण भएको गीति भिडियोको मास्टरिङ भने राजु कार्कीले गर्नुभएको हो ।
म्यूजिक भिडियो लन्च भएको तीन दिनमा नै एक लाख ५६ हजार वढी भ्युअर्स वनेका छन् ।
(हेर्नुहोस भिडियो)