न्यूनचापीय रेखा नेपाली आकाश माथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ ।

उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराए ।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका छन् । उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।

यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।

महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ ।

यो परिमाणमा अझै वृद्धि हुने बैद्यकाे भनाइ छ । “यो पछिल्लो २४ घण्टाको विवरण हो”, बैद्यले भने, “यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।” उनले भने ।

मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनले जोड दिए ।