
खोटाङ कात्तिक–११, खोटाङमा पनि समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक रुपमा सुरुवात गरिएको छ । हर प्रहर गाँउ नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मुल नारा सहित नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम आइतबारदेखी औपचारिक रुपमा सुरुवात गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलवजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको विशेष कार्यक्रममा गोमा खत्रीले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । गृह मन्त्रालयको केन्द्रीय कार्यक्रम अनुसार जिल्ला प्रहरीले पनि हरेक स्थानीय तहसँग सहकार्य गर्दै अभियान सञ्चालन गर्ने बताएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम हरेक पालिकाहरु, वडाहरु, टोल तथा बिभिन्न बिद्यालय स्तर सम्म पुग्ने वताईएको छ ।
समाजका हरेक व्यक्तिको साथी प्रहरी नै हुनुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले वताउनुभयो । अधिकांश घटनाहरु लुकेर रहेको हुँदा प्रहरीको अपराध अनुसन्धानमा स्थानीयको सहयोग हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । यसैवीच, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख इवन राई र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीवीच समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सम्झौता गरिएको छ । सम्झौतापछि वोल्दै मेयर राईले कार्यक्रम प्रभावकारी वनाउन नगरपालिकाले कुनै कसर वाँकी नराख्ने प्रतिवद्दता जनाउनुभएको छ ।
नेपाल प्रहरीले जनतासँग सहकार्य गर्नका लागी धेरै अभियानहरु संचालन गरेको छ । मुस्कान सहितको सेवा, प्रहरी हाम्रो साथी लगाएतका अभियानसँगै यस पटक सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रमले पनि सार्थकता पाउनेमा स्थानीयको बिश्वास छ ।