खोटाङ । खर वा फुसको छाना विस्थापित गर्न खोटाङका २३८८ घरलाई निःशुल्क जस्तापाता उपलब्ध गराइने भएको छ ।

केन्द्र सरकारको सहरी विका मन्त्रालय अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत खोटाङ जिल्लाका दुइ हजार तीन सय अठासी घरधुरीमा खर वा फुसको छाना विस्थापित गरी जस्तापाता लगाइने भएको हो ।

खोटाङका सांसद विशाल भट्टराईले अति विपन्न, असहाय, असक्त, बृद्धबृद्धा, अनाथ बालबालिका, एकल महिला बसोबास गरेका घरलाई प्राथमिकता दिइने जानकारी दिए । उनका अनुसार तीन वर्षभित्र जिल्लाका सबै घरवाट खर वा फुसको छाना हटाएर जस्तापाता लगाउने योजना रहेको छ ।

सांसद भट्टराईले जस्तापाता उपलब्ध गराउन निर्णय गर्ने नेपाल सरकार तथा सहरी विकासमन्त्री बसन्त नेम्बाङप्रति आभार प्रकट गरेका छन् ।

कुन पालिकाका कति घर ?

जिल्लाका १० स्थानीय तह मध्ये यो वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सबैभन्दा धेरै घर ३४८ र साकेला गाउँपालिकाको सबैभन्दा कम १५० घरमा जस्तापाता उपलब्ध गराइने भएको छ ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा ३४३ घर, ऐसेलुखर्क गाउँपालिकामा २३१ घर, रावाबेसी गाउँपालिकामा २०६ घर, जन्तेढुंगा गाउँपालिकामा २२० घर, खोटेहाङ गाउँपालिकामा २८० घर, केपिलासगढी गाउँपालिकामा २११ घर, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा २०३ घर, बराहपोखरी गाउँपालिकामा १९६ घरमा जस्तापाता उपलब्ध गराइने भएको छ ।