पक्राउपछि सिँचाईका प्रमुख श्रेष्ठ । तस्बीर स्रोतः नागरिकन्यूज/दमन राई

खोटाङ । खोटाङको दिक्तेलस्थित जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय प्रमुख नारायणकाजी श्रेष्ठ नौं लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले श्रेष्ठलाई उनकै निवासबाट नौं लाख घुससहित पक्राउ गरेको हो । अख्यियारले नौ लाख ३४ हजार घुससहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनले लामाे समयदेिख घुस मागेर हैरान बनाउने गरेको जिल्लाबासीको गुनासो छ । अहिले भने अख्तियारमा उजुरी परेपछि उनी फन्दामा परेका हुन् ।

उनलाई पक्राउ गर्न काठमाडौंबाटै अख्तियारको टोली पुगेको थियो । काठमाडौंबाट दिक्तेल पुगेर योजनाका साथ अख्तियारले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । खोटाङमा सञ्चालिन सरकारी अड्डाहरु मध्ये धेरै बजेट परेको अड्डामा सिचाई पनि एक हाे । श्रेष्ठ वर्षदिन अघि सरुवा भएर प्रमुखको जिम्मेवारमा बसेर घुसखोरी काममा लाग्ने गरेको पाइएको छ ।

अख्तियारको नियन्त्रणमा परेका नारायणकाजी श्रेष्ठ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले प्रेस विज्ञाप्ती जारी गर्दै ‘स्टीङ अपरेसन’काक्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य जाँच गरी अख्तियारको टोलीले साथैमा काठमाडौं लगिएको जानकारी दिएका छन् ।

जिल्लाकै एक निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एबं उजुरीका आधारमा उनीमाथि स्टिङ अप्रेशन गरिएको थियो ।

श्रेष्ठले छिटो निकासाका लागि माथि रकम दिनुपर्ने भन्दै सेवाग्राहीमाथि बार्गेनिङ गरेका थिए । प्रमुख श्रेष्ठको बार्गेनिङका कारण आजित भएका सेवाग्राहीले अख्तियारमा गुनासो गरेपछि अख्तियारले स्टिङ अप्रेशन गरी उनलाई घुससहित नियन्त्रणमा लिएको हो ।

उनलाई प्रकाउ गरिएपछि खोटाङका सांसद विशाल भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा छोटा प्रतिक्रिया लेख्दै अन्यत्र पनि कहिँ कतै यस्ता क्रियाकलाप भएका छन भने अबिलम्ब खोजी गरेर कानुनी कारबाही गर्न माग गरेका छन् । उनले घुस बुझाउनेलाई नेपथ्यमा राखेर रहस्यमय नबनाउन आग्रह समेत गरेका छन् ।