खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राविका प्रधानध्यापक रत्नकुमार बस्नेत किर्ते कागजात पेश गरेको अभियोगमा पदबाट बर्खास्त भएका छन् ।
प्रअ बस्नेतले विद्यालयको टेवा पर्खाल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम खोटाङ (ख) का तर्फबाट विनियोजित १० लाख रकम फस्र्यौटका क्रममा ‘फेक डकुमेन्ट’ पेश गरेको खुलेको हो ।
प्रअ बस्नेतले ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर समावेश गरेर योजना फस्र्यौटका लागि गाउँपालिकामा आवेदन दिएको खुलेपछि गाउँपालिकाले उनलाई पदबाट हटाएको हो ।
गाउँ शिक्षा समितिको सिफारिसका आधारमा गाउँपालिकाले आइतबारदेखि लागू हुने गरी प्रअ बस्नेतलाई पदबाट हटाउने निर्णय गरिएको हाे । उनलाई बर्खास्त गर्न अगाडी स्पष्टिकरण सोधिएको थियो ।