खोटाङ २५ असार । खोटाङमा सामुहिक भोज खाएकाहरु मध्ये कम्तिमा ३० जना स्थानीयहरु सिकिस्त बिरामी परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पास्नी (भात खुवाइ) कार्यक्रमको सामुहिक भोज खाएका ३० बढी स्थानीय बिरामी परेका हुन् ।

लफ्याङस्थित तित्रीबोटेका सुजन राईकी छोरीको बुधबार दिउँसो आयोजना गरिएको पास्नीको सामुहिक भोजमा सहभागी ३० बढीस्थानीय बासिन्दा भोज खाएको केहि समयपछि बिरामी परेका हुन् ।
भोज खाएको केहि समयपछि बान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने र ढल्ने लक्षण देखिएको वडा अध्यक्ष निर्मल राईले जानकारी दिए । उनीहरुले भोजमा मासुभातसँगै ट्याङ (जुस) प्रयोग गरेको पाइएको छ । ट्याङ जुसका कारण उनीहरु बिरामी परेको अनुमान गरिएको छ ।

भोज खाएर घर फर्किएका व्यक्तिसमेत बिरामी रहेको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीयबासीका अनुसार बिरामी हुनेमा अधिकांश बालबालिका रहेका छन् । भोजमा मादक पदार्थ (जाँडरक्सी) सेवन गर्ने व्यक्तिलाई केहि नभएको जनाइएको छ ।

सामुहिक भोज खाएका व्यक्ति एक्कासी बिरामी भएपछि नगरपालिकाको स्वास्थ्य शाखाबाट आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

४ जना डिस्चार्ज हुन बाँकी
भोज खाएर बिरामी परेकाहरु मध्ये २६ जनालाई बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । वडा अध्यक्ष राईका अनुसार उनीहरुमध्ये ४ जनाको डिस्चार्ज हुन बाँकी रहेको छ भने अन्यको उपचारपछि डिस्चार्ज गरिएको छ । २६ जनालाई अस्पताल भर्ना गरिएपनि अन्यलाई भने गाउँमा स्वास्थ्यकर्मीको टोली पठाएर उपचार गरिएको छ । अहिलेसम्म के कारण उनीहरु बिरामी परे भन्ने खुलेको छैन । चिकित्सकहरुले भने फुड पैजन भएको जनाएका छन् ।