खोटाङ असार–२४, खोटाङस्थित दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आगामी साउन ७ गतेबाट टोलटोलमा पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।

शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा सञ्चालन गरिएको अनलाईन कक्षा प्रभावकारी नदेखिएकाले आफ्नो क्षेत्रमा टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन शुरु गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

पठनपाठन शुरु गर्ने निर्णयसँगै बन्दाबन्दीको कारण आ–आफ्नो घरमा रोकिएर रहेका शिक्षकलाई साउन ३ गतेभित्र अनिवार्य रुपमा गाउँपालिकामा उपस्थित हुन पत्राचारसमेत गरिएको गाउँपालिका प्रमुख राईको भनाई छ ।
गाउँपालिकाभित्रै रहेका शिक्षकको भने, आरडिटिसमेत परीक्षण नगरिने गाउँपालिकाले जनाएको छ । साउन ४ गते सबै शिक्षक आफू कार्यरत विद्यालयमा उपस्थित भई आ–आफ्नो विषयको कार्यतालिका बनाउनुका साथै साउन ७ गतेबाट टोलटोलमा पुगेर पठनपाठन शुरु गर्ने जनाइएको छ ।

टोलटोलमा पुगेका शिक्षकले विद्यार्थीलाई गृहकार्य गर्न लगाउने, नजानेका कुरामा सहजीकरण गर्ने, आन्तरिक मूल्याङ्कन अध्यावधिक लगायतका क्रियाकलाप गर्ने गाउँ शिक्षा समितिका सदस्य एवम् महेन्द्रोद्धय माविका प्रधानाध्यापक केशवकुमार खड्काले बताउनुभयो । गाउँपालिकाभित्र सञ्चालित ४८ वटै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई टोलटोलमा भेला गरेर शिक्षक सिकाइका साथै विभिन्न क्रियाकलापमा सहभागी गराएर पढ्ने बानीको विकास गरिने जनाइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यसअघि नै निःशुल्करुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको थियो ।

टोलटोलमा परिचालन हुने शिक्षकले अनिवार्यरुपमा मास्क, ग्लोब्स र सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । विद्यार्थीको गाउँटोलमै सञ्चालन हुने शैक्षिक क्रियाकलापका लागि २ सय ५० जना शिक्षक परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा भने अहिलेसम्म कुन उपाय अपनाएर पठनपाठन सञ्चालन गर्ने भन्नेमा कुनै टुङ्गो लागेको छैन । दश स्थानीय तह रहेको जिल्लामा ४ सय ९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।