खोटाङ । खोटाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित राजन राईले जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित ऐसेलुखर्क गाउँपालिकामा व्यापक भ्रष्टचार भएको प्रदेशसभा बैठकमा औंल्याएका छन् । ऐसेलुखर्कमा दुई वटा योजनामा व्यापक भ्रष्टाचार भएको उनले उल्लेख गरेका हुन् ।

एसेलुखर्क दोप्सु देशारे सडकमा अनियमितता भएको भन्दै यस वर्ष ८७ लाख रुपैयाँ विनियोजन भएको तर स्थानीय ठेकेदारले काम गर्न नमानेर अलपत्र अवस्थामा रहेको उनले बताएका छन् । ‘ठेकेदारले भन्छ बाटो बनाउँछौँ तर ढुँगा पुटाउँदैनौ चौडामात्र बनाउँछौ भन्ने गरेका छन् ।’ यता प्रदेश सरकारले यस यो आर्थिक बर्षमा विनियोजन गरेको किताबमा ऐंसेलुखर्क, होप्चु, देसारे, ज्यामिरे, रावाखोला सडक स्तरोन्नति शिर्षकमा १ करोड १० लाख रुपैयाँ छुट्टाईएको विवरण रहेको छ ।’ उनले भने ।

यस्तै एसेलुखर्क गाउँ पालिका वडा नं ७ माक्पाको बन्चरेखोला डम्बरे कुलो सिँचाई आयोजना गत बर्षनै सम्पन्न भई सकेको भएपनि यस पटकको बजेटमा ५० लाख रुपैयाँ विनियोजन गरेको भन्दै उनले विरोध जनाएका छन् । केही वर्ष अगाडि नै योजना सम्पन्न भएको भएपनि ५० लाख रुपैयाँ छुट्टाईएकाले भ्रष्टाचार मौलाउने बाटो बनेको उनले बताए ।

भिडियाे हेर्नुहाेस्:

यस्तै, संसदमै बोल्ने क्रममा नेपाल विद्युत प्राधिकरणको तर्फबाट एसेलुखर्क गाउँ पालिकामा नै भएको विद्युत विस्तारको काममा करिब २०० प्रतिशत भ्रष्टाचार भएको उनले दाबी गरे । विद्युत विस्तार गर्ने क्रममा सबै सरकारी लगानीमा हुने कामलाई स्थानीय नागरिकलाई जनश्रमबाट पोल बोकाईनु, प्रत्येक घरबाट पैसा संकलन गरिनु व्यापक भ्रष्टाचार भएको उनको भनाई छ । उनले यो आयोजनामा विद्युृत प्राधिकरण, ठेकेदार सबैको मिलेमतोमा भ्रष्टाचार भएको दाबी गरेका छन् । आवश्यक परेमा प्रमाण समेत जुटाईदिने उनको भनाई रहेको छ ।

विद्युत आयोजनामा विद्युत प्राधिकरण जिल्ला शाखा खोटाङबाट तीन वटा निर्माण व्यवसायी कम्पनीको ठेक्का परेको थियो भने स्थानीय तहका जनप्रतिनिधिले छुट्टै उपभोक्ता समिति समेत गठन गरि प्रति घरधुरी रु ३५०० का दरले रकम संकलन गरिएको थियो । यस्तै स्थानीय उपभोक्तालाई विद्युतको पोल बोकाउने तथा तार टाङने काम समेत लगाईएको थियो ।