
खोटाङ, २२ असार । खोटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा बिच्छाउन ल्याएको मार्बल झार्ने क्रममा मार्बलले किचेर दुई जना गम्भीर घाइते भएका छन् ।
मार्बलले किचेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३० वर्षीय भुवन आचार्य र ओखलढुङ्गा जिल्लाको चिशङ्खुगढी गाउँपालिका–५ माम्खाका २४ वर्षीय कृष्ण कार्की गम्भीर घाइते भएका हुन् ।
मार्बल गाडीबाट झार्नेक्रममा मार्बलले नै किचेर सोमबार बेलुकी करिब ४ बजे गम्भीर घाइते उनीहरुलाई करिब ६ बजे हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।
मार्बलले किच्दा आचार्यको दाहिने हात र खुट्टा भाँचिनुका साथै शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको जनाइएको छ । अर्का घाइते कार्कीको दाहिने खुट्टाको घुँडामाथिको भाग भाँचिनुका साथै शरीरमा समेत चोट लागेको जनाइएको छ ।
दुर्घघटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उद्दार गरेर जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएको थियो । त्यसपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टर झिकाएर काठमाडौँ पठाइएको हो । नेकपाका नेता कुमार आचार्यले हेलि झिकाउन पहल गरेका थिए भने सांसद विशाल भट्टर्राको सहयोगमा तत्काल नै हेलि मगाएर काठमाडाैं पठाइएकाे हाे ।