खोटाङ, १३ कात्तिक । नेपाल खाद्य संस्थान खोटाङ दिक्तेलले सडिएको चामल बिक्री गरेको पाइएको छ । संस्थानले यस वर्षको दशै तथा तिहारमा सडिएको ६ सय ११ क्विन्टल चामल बिक्री गरेको पाइएको हो । 
दशैं मनाउन खाद्य संस्थानबाट घर लगिएको चामल खानै नहुँने अवस्थाको रहेको खार्मी–५ का सुरेश श्रेष्ठले बताउनुभयो । “वर्ष दिनको चाड मनाउन दिक्तेलबाट चामल त लगियो ।” उहाँले भन्नुभयो, “पकाएर खान खोज्दा गन्हाएर खानै नहुने अवस्थाको रहेछ ।”
संस्थानले बिक्री गरेको चामल चिल्सा परेको, भिजेर डल्लो परेको र सडिएर कालो भएको उपभोक्ताले बताएका छन् । संस्थानले यस वर्ष तीन वर्षअघि आर्थिक वर्ष २०७१/०७२ मा प्याकिङ गरिएको चामल बिक्री गरेको हो । 
संस्थानले सडिएको चामल बिक्री गर्दासमेत प्रशासन मौन रहेको खाल्लेका उपभोक्ता नेत्रबहादुर बटवालले बताउनुभयो । “संस्थानबाटै उपभोक्ताको स्वास्थ्यमाथि हेल्चेक्र्याइँ भएको छ ।” उहाँले भन्नुभयो, “यसप्रति सम्बन्धित निकायले चासो दिनुपर्छ ।”
संस्थानबाट बिक्री गरिएको चामल खान योग्य नै रहेको संस्थान प्रमुख देवकिशोरलाल कर्णले दाबी गर्नुभयो । “सडिएको भए हामी आफै नष्ट गथ्र्यौ ।” उहाँले भन्नुभयो, “खान योग्य भएकै कारण बिक्री गरिएको हो ।”
तीन वर्षअघि संस्थानमा आएको चामल गत वर्ष बिक्री नभएकाले यस वर्ष बेच्न बाध्य भएको संस्थानले जनाएको छ । जिल्लामा पछिल्लो समय गाउँगाउँमा यातायातका सवारी साधन पुगेपछि संस्थानको चामल बिक्री हुन छाडेको हो । 
चामल लगायत खाद्य पदार्थ प्याकिङ गरेको नौं महिनाभित्र उपभोग गर्दा उत्तम हुने क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका वरिष्ठ खाद्य प्रविधि अधिकृत प्रमोद कोईरालाले बताउनुभयो । “चामलको हकमा यकिन गरेर अन्तिम मिति तोकिएको हुँदैन ।” उहाँले भन्नुभयो, “तर, सडिएको चामल बिक्री गरेको रहेछ भने कारबाही हुन्छ ।”
गोदाममै सडिएको अरुवा सोना मन्सुली नामको चामल संस्थानले प्रति केजी ३४ रुपैयाँ ५० पैसामा बिक्री गरेको छ । संस्थानले चामल प्याकिङ गरिएको बोराको समेत प्रतिगोटा २० रुपैयाँ मुल्य लिने गरेको उपभोक्ताले गुनासो गरेका छन् । 
सोही चामल जिल्ला कारागार खोटाङमा रहेका कैदीबन्दीले समेत उपभोग गर्दै आएका छन् । यस पटक ९० क्विन्टल चामल कारागार रहेका कैदीबन्दीका लागि छुट्याइएको संस्थानले जनाएको छ ।