खोटाङमा पछिल्लो समय पाँच जनामा कोरोना संक्रमण भएको छ । सदरमुकाम समेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै ठेगाना भएका ३ र रावावेंसी र ऐसेलुखर्क ठेगाना भएका एक/एक गरी पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अहिले नगरपालिकाले गरिरहेकाे कोरोना नियन्त्रण, विकास निर्माण तथा अन्य कामका विषयमा हाम्रोखोटाङ डटकमका सम्पादक रामधन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख (मेयर) दिपनारायण रिजालसँग गर्नुभएको विशेष अन्तर्वार्ता:
– कोरोना संक्रमित बढीरहेका छन्, नगरपालिकामै पनि थपिएका छन्, यसको नियन्त्रणका लागि के प्रयास भइरहेको छ ?
जब विश्वमा कोरोना भाइरसको संक्रमण बढ्न थाल्यो, त्यसपछि नेपाल सरकारले लकडाउन गरेर त्यसलाई प्रभावकारी गर्दै अगाडी बढीरह्यो । पछिल्लो समयसम्म हामीले हाम्रो नगरपालिकालाई सुरक्षित राख्न सकेका थियौं । नेपाल सरकारले नै भारत लगायत तेस्रो मुलुकबाट आउने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ल्याउने निर्णय गरिसकेपछि हामीलाई यसको व्यवस्थापन नै चुनौतीपूर्ण रह्यो । हामीले प्रदेश सरकारसँग अनुरोध गर्यौ, प्रदेश सरकारले निश्चित ठाउँमा हुने गरी क्वारेन्टाइन बनाउने र त्यहीँ क्वारेन्टाइनबाट पिसिआर टेस्ट गरेर नेगेटिभ आएकालाई मात्र ल्याउने र पोजेटिभ आएका दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्बन्धित ठाउँमै उपचार गराउन अनुरोध गर्यौ । विभिन्न कारणले गर्दा पछि यो उहाँहरुले धान्न सक्नुभएन । जसरी पनि पालिकामै पठाउने भनेपछि अहिले पालिकामा आएपछि हामीले भारत र तेस्रो मुलुकबाट आएका दाजुभाई तथा दिदीबहिनीहरुलाई ल्याउन बाध्य भयौं । ल्याईसकेपछि अहिले कोरोनाको संक्रमण देखिएको छ ।
यहाँ भइरहेका दाजुभाई तथा दिदीबहिनीहरुमा कोरोना देखिएको हैन । यहाँ नगरपालिकाकै ठेगाना भएका तीन जनामा कोरोना देखिएको हो । तीन जनामा एक जना साउदी अरब, एक जना कुवेत र एक जना भारतबाट आउनु भएको हो । त्यसपछि एक जना जो सदरमुकाममा बस्नुहुन्थ्यो, उहाँको घर रावाबेंशी गाउँपालिका हो, उहाँलाई पनि कोरोना देखियो । उहाँ पनि भारतबाटै आउनु भएको हो । थप एक जनामा पनि कोरोना देखिएको हो, उहाँ ऐंसेलुखर्क गाउँपालिकाको हुनुहुन्छ उहाँ पनि कुवेतबाटै आउनु भएको हो ।
अहिलेसम्म जो जसलाई कोरोना देखिएको छ उहाँहरु बाहिरी मुलुक गएर आउनु भएकोमा देखिएको छ । अहिलेसम्म हाम्रो समुदायमा कोरोना देखिएको छैन । यसको व्यवस्थापनका लागि हामीले धेरै नै मेहेनत गरिरहेका छौं । क्वारेन्टाइन विस्तार गरेका छौं ।
कस्तो पनि भयो भने, सुरुमा उहाँहरु कतिपय पिसिआर टेस्ट गरेर आउनु भएको छ । पिसिआर टेस्ट गरेको ३/४ दिन भएको छ । उहाँहरु सुरक्षित ढंगले आएको भनेपछि हामीले केहीलाई होम क्वारेन्टाइनमै राखेर सुरक्षित गर्न सकिन्छ कि भन्ने हाम्रो बुझाई भयो । ३/४ दिन अघि कोरोना टेस्ट गरेका होम क्वारेन्टाइनमै बसेकालाई कोरोना देखिएपछि अब हामी कसैलाई पनि होम क्वारेन्टाइनमा पठाउदेनौं । बरु भुईमै सुताउनु परे पनि सुताउने तर क्वारेन्टाइनमै पठाउने गरी योजना बनाएका छौं । क्वारेन्टाइन व्यवस्थित बनाएका छौं अहिलेसम्म क्वारेन्टाइनमा व्यवस्थित राख्ने गरी निर्माण गरेका छौं ।
– बाहिरबाट आउनेलाई ४/५ दिन क्वारेन्टाइनमा राखेर होम क्वारेन्टाइनमा राख्दा समुदाममा संक्रमण फैलने खतरा बढेर गएको छ नि ?
यस्तो भयो, उहाँहरुलाई क्वारेन्टाइनमै राखियो । ४/५ दिन अघि पिसिआर टेस्ट गरेर आउनु भएको थियो । उहाँहरु तीन जना आउनु भएको, तीन जनाकै पिसिआर नेगेटिभ थियो । कभर्ड हलमा ठूलो ग्रुप एकै ठाउँमा राख्नुपर्ने अनि पिसिआर पनि नभएको आरडिटी पनि नभएको अर्को ग्रुप आयो । अनि हामीलाई के लाग्यो भने अगाडीको त पिसिआर चेक भएको छ, पछिको आरडिटी पनि चेक छैन, पिसिआर पनि छैन अनि सँगै राखिदिँदा त उहाँहरु अझै जोखिममा पर्नुहोला भनेर हामीले सुरक्षित हिसाब सोचेर होम क्वारेन्टाइनमा पठाएका हो ।
यो नगरपालिका जिल्लाकै ठूलो र मुख्य व्यापारिक केन्द्र पनि हो, लकडाउन खुकुलो भएपछि भिडभाड हुने, सामाजिक दुरी कायम नहुने जस्ता कारण कोरोना बढ्ने देखिन्छ है ?
केन्द्र सरकारले नै लकडाउन खुकुलो बनाएपछि हामीले पनि गर्यौ । खुकुलो गर्दा पनि यहाँ सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सावधानी अपनाउने कुराहरु हामीले पटक पटक जानकारी गरायौं । हुँदाहुँदै पनि मान्छेले छिट्टै बिर्सि जाने, कोरोना छैन, केही हैन जस्तै गरेर कतिपय मानिसहरु अनावश्यक काममा पनि आवत जावत गर्नुभयो । उहाँहरुलाई हामीले सचेतिकरण गरिरहेका छौं ।
अहिले नगरपालिकामै चार जनालाई कोरोना पुष्टि भएपछि पूर्ववत् रुपमा नै आवात जावातलाई न्यून गर्ने, अतिआवश्यक कामबाहेक हिडडुल नगर्ने, औषधी र खाद्यान्न तथा अत्यावश्यक वस्तु बाहेकका पसल व्यवसाय बन्द गर्ने हामीले निर्णय गरेका छौं । नगरपालिकाका केही ठाउँलाई सिल पनि गरेका छौं । यसलाई कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय सबैको समन्वयमा यो काम अगाडी बढाएका छौं ।
अहिले दिक्तेलवजारका पसलहरु सिमित समयका लागि खोलिएको छ, सबैमा सूचना पुर्याउन के गर्नु भएको छ ?
जिल्ला प्रशासन कार्यालयमा मिटिङ गरेर हामीले निर्णय गर्यौ । निर्णयपछि हामीले उद्योग वाणिज्य संघमार्फत सबैलाई खबर गरेका छौं । नगरपालिकाले पनि सबै ठाउँमा माइकिङ गर्ने काम गरिरहेको छ । मलाई विश्वास छ, सबैले थाहा पाईसक्नु भएको छ, यदि थाहा पाउनु भएको छैन भने म अनुरोध पनि गर्न चाहन्छु, बिहान ६ बजेदेखि नौ बजेसम्म खाद्यान्न लगायत अत्यावश्यक पर्ने पसलहरु खुल्छन् । अन्य खुल्दैनन् । त्यो समय बाहेक अन्य समय औषधी पसलबाहेकका पसलहरु बन्द गर्न अनुरोध गर्दछु । यो तपाई हामी सबैको हितका लागि भनिएको हो । तपाई हाम्रो सानो गल्तीले आफ्नो परिवारको सदस्य गुमाउनुपर्ने दिन पनि नआउला भन्न सकिन्न, त्यसैले सबैलाई संवेदनशिल भईदिन आग्रह गर्दछु ।
– प्रदेश, केन्द्र सरकार र सर्वसाधरणबाट कोरोना रोकथाममा कस्तो सहयोग मिलेको छ ?
संघीय सरकार र प्रदेश सरकारबाट कोरोना न्यूनिकरण गर्न हैन, विस्तार गर्न सहयोग भएको छ । यो अप्रिय जस्तो लाग्छ सुन्दाखेरी, तर अप्रिय नमानौं किनभने कोरोना विस्तार कसरी भयो भन्दा बाहिरी देशबाट आएकालाई विराटनगरमै राखेर पिसिआर टेस्ट गरेर मात्र जिल्ला जिल्लामा पठाउने व्यवस्था गरेको भए, कोरोना त त्यहीँ रहन्थ्यो, जिल्ला जिल्लामा पुग्दैन थियो । विराटनगरमा ल्याईदिने अनि सम्बन्धित पालिकामा पठाईदिने गरेपछि अहिले सबै पालिकामा कोरोना पुग्यो । हो यसरी संघ र प्रदेश सरकारका कारण कोरोना विस्तार भएको छ ।
हामीलाई कतिसम्म गाह्राे छ– विराटनगरबाट यहाँसम्म उहाँहरुलाई गाडीमा ल्याउनु पर्यो । यहाँ १४ दिन क्वारेन्टाइनमा राख्नुपर्यो, त्यसपछि पिसिआरका लागि स्वाब संकलन गर्नुपर्यो । स्वाब लिएर ३०/३५ हजार खर्च गरेर परीक्षण गर्न लैजानु पर्यो, फेरि पोजेटिभ देखिएपछि संक्रमितलाई विराटनगर धरान नै लैजानपर्यो । निको भएपछि फेरि त्यहाँबाट ल्याउनुपर्यो । हामीलाई धेरै नै गाह्राे भइरहेको छ, मैले यो साँच्चीकै पिडा पनि व्यक्त गरेको हो ।
प्रदेश सरकारले सुरुमा जुन निर्णय गरेको थियो, साँच्चै स्वागतयोग्य निर्णय गरेको थियो । विराटनगर वा नजिकै क्वारेन्टाइन बनाउने र सबैलाई त्यहीँ राखेर पिसिआर परीक्षणमा नगेटिभ आएपछि मात्र पालिका पालिका पठाउने भन्ने हाम्रो पनि माग थियो । अझ हामीले त्यहाँ लाग्ने खर्च कति हो हामी बेहोर्छौ भन्दा पनि त्यो कार्यान्वयन हुन सकेन । जसको परिणाम स्वरुप अहिले कोरोना जिल्ला जिल्ला, पालिका पालिकामा विस्तार भयो ।
कोरोना नियन्त्रणका लागि आर्थिक व्यवस्थापन चाँही कसरी गरिरहनु भएको छ ?
हामीले कोरोना विपत कोष सार्वजनिक गरेका छौं । कोषमा नगरका कर्मचारीहरुको एक महिनाको सेवा सुविधा, शिक्षक कर्मचारीहरुको तलब, केही भ्रमण शिर्षकका खर्चहरु रकमान्तर गरेर कोषमा जम्मा गरेका छौं । यसरी हामीले कोषमा ७५ लाख भन्दा बढी पैसा जम्मा गर्न सफल भएका छौं, त्यसैबाट अहिले हामीले व्यवस्थापन गरिरहेका छौं । त्यो कोषमा प्रदेश सरकारका तर्फबाट १० लाख पाएका छौं । संघीय सरकारबाट कोरोना नियन्त्रणका लागि एक रुपैयाँ पनि सहयोग भएको छैन ।
जिल्ला बाहिरबाट अत्यावश्यक कामका लागि आउनेहरुले कतिको सम्पर्क गर्नु भएको छ, उहाँलाई कसरी मिलाइरहनु भएको छ ?
वैदेशिक रोजगारीबाट फर्कनेहरु धेरैले सम्पर्क गरिरहनु भएको छ । विभिन्न माध्यममार्फत हामी आउँदैछौं, क्वारेन्टाइनमा बस्नुपर्छ कि पर्दैन लगायत सोधिरहनु भएको छ । हामीले प्रष्ट रुपमा भनेका छौं, यहाँ आएपछि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्छ र कोरोना नभएको पुष्टि भएको सर्टिफाइड नहुँदासम्म जान पाउनु हुन्न ।
अन्य आवतजावतको हकमा हामीले पूर्ण रुपमा लकडाउन हुँदा पनि अस्पताले डिस्चार्ज गरेका बिरामीहरु सयौंलाई ल्याएका छौं । कतिपय अहिले पनि अप्ठ्यारोमा परेकाहरुलाई समन्वय गरेर ल्याइरहेका छौं । विशेष गरी कामको सिलसिलामा आउनेहरुलाई सम्बन्धित पालिका, जिल्ला वा अस्पतालमा पिसिआर टेस्ट गराएर त्यसको नेगेटिभ भएको रिपोर्ट लिएर आएमा प्रवेश गर्न दिने भनेका छौं ।
जिल्ला कसरी आउने, पास कसरी पाइन्छ हामीलाई त खान बस्नै गाह्राे भयो भन्नेहरु धेरै भेटिन्छन्, पासको व्यवस्था के छ ?
पासका सन्दर्भमा आइतर बेलुका मात्र एउटा निर्णय आएको छ । सन्बन्धित पालिकाले म त्यो मान्छेलाई ल्याएर १४ दिन क्वारेन्टाइनमा राख्छु पठाईदिनु भनेर पालिकाले भनेको आधारमा मात्र पठाइन्छ । यो भन्दा अगाडी के थियो भने जाने र प्रवेश गर्ने जिल्लाका सिडिओबीच समन्वय भएर अनुमति दिने भन्ने थियो । सिडिओले दिँदा पनि स्थानीय पालिकाको सहमति लिएर मात्र अनुमति दिने गरिएको थियो । अहिले चाँही पालिकाले म त्यो मान्छेलाई १४ दिन क्वारेन्टाइनमा राख्न तयार छु भनेपछि पास दिने भन्ने भएको छ । तर, अत्यावश्यक बाहेकलाई अहिले पनि पास दिएको अवस्था छैन । धेरै मान्छेहरु यो बिचमा पनि आउनु भयो । धेरै त जयरामघाटमा आएपछि हामीलाई थाहा हुन्छ । जयरामघाटमा प्रहरीबाट रोकिएपछि हामीलाई फोन आउँछ । त्यहाँ हामीले समन्वय गर्ने गरेका छौं । धेरै मान्छेहरु बिचमा त्यसरी पनि भित्रनु भएको छ, हामीले उहाँहरुमा संक्रमण नभएको आशा गरेका छौं ।
अहिले त सलह पनि नेपाल प्रवेश गरेका छ, यसको नियन्त्रणका लागि के कस्तो प्रयास भएका छन् ?
कोरोनासँगै थप दुई वटा विपत्ति हामीसँग आयो । एउटा अमेरिकन फौजी किरा– त्यसको समयमै नियन्त्रण गर्न सक्यौं । त्यो किसानहरुका लागि निक्कै विनाशकारी थियो । त्यसको हामीले निक्कै मेहनतका साथ समाधान गरेका छौं । फेरि अहिले सलह किरा प्रवेश गर्यो । तीन दिन अघि हाम्रो नगरपालिकामा पनि सलह किरा आईपुग्यो । किसानहरुले सलह लिएर हामीकहाँ आउनु भयो, त्यसलाई हामीले परीक्षणका लागि पठायौं, पछि सलह नै भएको पुष्टि भयो । यसको नियन्त्रणका लागि अहिले हामीले किसानहरुलाई नै सचेत गराउने काम गरिहेका छौं । सबैलाई खबर गरिरहेका छौं । त्यस्तो किसिमको किरा देखिएमा तुरुन्त खबर गर्न अनुरोध गरेका छौं । यसको नियन्त्रणको विधि भनेको २/३ वटा मात्रै रहेछ । ठूलो मात्रामा विषादीहरु प्रयोग गर्ने, अर्को भनेको ठूलो ठूलो आवाज दिएर, गुइठा बालेर त्यसलाई भगाउने र अर्को चाँही पक्रने यस्तै यसका विधिहरु रहेछन् । यसैलाई हामीले अवलम्बन गर्नुपर्ने स्थिति भएकाले सबैलाई यहीँ आग्रह गरेका छौं ।
– धान दिवसमा, नगरपालिकाको सडकमै धान रोपेर विरोध गरियो, यसमा तपाईको धारणा के छ ?
मैले अलिअलि सामाजिक सञ्जालतिर देखें । सरकारलाई मानिसहरुले विभिन्न किसिमले विरोध गर्नुहुन्छ । त्यसलाई हामीले सामान्य किसिमले नै लिनुपर्छ । यसलाई दबाब सिर्जना गरिएको हो भनेर हामी जनप्रतिधिले बुझ्नुपर्छ ।
तर, विरोधको पनि अर्थ हुनुपर्दछ । जुन उहाँहरुले सडकमा धान रोप्नु भयो भन्ने सुनियो, यसमा उहाँहरुले सडक भनेको सार्वजनिक सम्पत्ति हो भनेर पनि बुझिदिनु पर्यो । अर्कोतर्फ सार्वजनिक सम्पत्तिको दुरुपयोग गरियो कारबाही गरिपाउँ भनेर पनि हामीलाई थुप्रै गुनासाहरु आएका छन् । त्यहीँ सडक हो, त्यहाँ अहिले पनि २ करोड २६ लाखको टेण्डर भएर काम भइरहेको छ । अनि वर्षा छ, काम हुँदाखेरी हिलो हुँदैन त रु कस्तो बुझाई क्या म छक्क परेको छु । केही वर्ष अघि मात्र जसले अहिले त्यहाँ विरोध गर्नुभयो उहाँहरुले त्यहीँ बाटो सोलिङ गर्नु भएको हो । बाटो सोलिङ पनि भएको छ । आफ्नो घर अगाडी आगनमा आफैं सोलिङ गर्नु भएको छ । आफैं घडेरी खन्दाखेरी माटोजति सोलिङमा भिजाउनु भएको छ, अनि नगरपालिकाको विरोध भन्दै धान रोप्नुहुन्छ ।
यस्ता कुराहरु भनेको कसैको उत्साहटमा गरिएको होला । यस्तो कुराले हामी जुन किसिमको सभ्य नागरिक हो । त्यसको पहिचान दिन सकिन्न । विरोधका पनि तरिकाहरु हुन्छन् । आफैंले निर्माण गरेको सडक, आफैंले खनेको खडेरीको माटो व्यवस्थापन नगर्ने, अनि नगरपालिकालाई दोष दिने रु यो गलत प्रवृत्ति हो ।
हामीले यति ठूलो सुविधा दिएका छौं कि, एक रुपैयाँ पनि उपभोक्ताले नबेहोर्ने गरी दिक्तेल बजार आसपासको सडकको ढलान गर्दैछौं । तपाईहरुले हेर्नसक्नुहुन्छ, अधिकांश शहरहरुमा ४० प्रतिशत अनिवार्य रुपमा उपभोक्ताले बेहोर्नपर्छ ।
फेरि १५ असार धान दिवस भनेको खाद्यान्न संकट हुन नदिने गरी खाद्य सम्प्रभुताको ग्यारेन्टी गर्ने गरी, बिज बिजनलाई व्यवस्थित गर्ने एउटा सन्देश दिने हो, त्यो बिउ लगेर एउटा सडकमा अपहेलना गर्न मिल्दैन । उहाँहरुलाई कसैले सिकायो, कसैको लहैलहैमा लागेर यो काम गर्नुभयो । जे गर्नुभयो त्यो शतप्रतिशत गलत गर्नुभयो । कानुनतः सार्वजनिक ठाउँमा यसो गर्न पाइदैन । कानुनतः हामीलाई उजुरी पर्यो भने ज–जसले यो काम गर्नुभयो उहाँहरुलाई कारबाही गर्छौ ।
तर, हामीले त्यसलाई ठूलो रुपमा लिएका छैनौं । एउटा दबाब सिर्जना गर्न खोज्नु भएको हो भन्ने रुपमा लिएका छौं । तर, प्रेसर कहाँ गर्ने भन्ने फेरि प्रश्न उठेको छ, जुन ठाउँमा योजना परेर काम हुँदैछ त्यहाँ किन गरियो ? कि राम्रो काम होस् भनेर प्रेसर दिनुपर्यो, त्यसो हो भने ठिक छ । नत्र काम गर्दै गर्दा वर्षा छ, हिलाम्मे छ हुन्छ नै ।
–राज्यको पुनसंरचनापछि सिंहदरबारको अधिकार घरदैलोमा भनिएको छ, तर सेवा र सुविधमा नगरबासीले धेरै चित्त बुझाएको पाइन्न नि ?
कस्तो छ भने सर्वसाधरणमा अपेक्षा धेरै ठूलो छ, तर हामीसँग स्रोत साधन थोरै छ । कहिले कहीँ त कस्तो लाग्छ भने सबैले स्थानीय सरकारसँग आशा गर्नु भएको छ । माथिल्ला सरकारले पनि कहिले कहीँ त यस्ता चिठीहरु पठाउँछ, फलानो कार्यक्रम त्यहीँको बजेटबाट व्यवस्थापन गर्ने भनेको हुन्छ । उहाँहरुलाई कति धेरै पैसा नगरपालिका, गाउँपालिकालाई पठाईदिए जस्तो लाग्छ होला । यति समस्या छ की, साविकका नगरपालिको नगरपालिका भन्दा अहिलेको राज्यको पुनसंरचनापछिको नगरपालिकाहरुको बजेट अत्यन्त कम छ । त्यो पनि विभिन्न शिर्षकहरु तोकेर आउने, तोकिएर आएको पैसा पनि नआउने, आदी पनि नआउने, कति धेरै पीडा छ । संविधान त जुन किसिमको लक्ष्य उद्देश्य हो अत्यन्त राम्रो छ, तर बजेटको सिमाको कारणले हामी जस्तो आन्तरिक स्रोत नभएका पालिकाको लागि दुर्भाग्यपूर्ण नै हो ।
म नागरिकको गुनासोको सम्मान गर्छु । उहाँहरुको गुनासोलाई म एकदमै बुझ्छु । तर, हाम्रो स्रोत साधनले भने जस्तै गरी पुर्याउन सकेका छैनौं ।
– नगरपालिकामा पहिले र तपाईहरु जनप्रतिनिधि निर्वाचित भएपछि विकास निर्माण तथा सेवा सुविधामा उपलब्धी के–के भएका छन् ?
यो त नागरिकले अनुभूति गर्ने कुरा पनि हो । हामी असार १४ गतेको निर्वाचनबाट निर्वाचित भएका थियौं, १८ गते सपथ ग्रहण लियौं । त्यतिबेला हामी कुनै पनि वडामा गाडीमा पुग्न सक्दैन थियौं । त्यतिबेला काठमाडौं जानुपर्दा गाडी चढ्न हलेसी पुग्नुपथ्र्यो । अहिले सबै घरका वडाबाट गाडी चढ्न सक्ने भएका छौं, यो एउटा उपलब्धी हो ।
अर्को कुरा, कृषि, स्वास्थ्य, शिक्षा सबै क्षेत्रमा परिवर्तन आएको छ । नागरिकले महसुस गर्ने किसिमले परिवर्तन आएको छ, यो मैले यहाँ धेरै भन्नु भन्दा महसुस हुने र गर्ने कुरा हो । यहीँ दिक्तेल बजारमा हामी निर्वाचित भएर आउँदै गर्दा बाइक कुदाउन सकिने अवस्था थिएन । अहिले दिक्तेल सुन्दर बजारको रुपमा विकास हुँदैछ ।
म फेरिपनि भन्छुं, धेरै नै परिवर्तन भएको छ । हुने क्रममा छ । तर हामीलाई सबैभन्दा ठूलो समस्या कोरोनाको रोकथाम तथा नियन्त्रण गर्नु भएको छ ।
कोरोना नियन्त्रण रोकथामका लागि नगरबासीलाई के सन्देश दिन चाहनुहुन्छ ?
कोरोना अलिकति ‘आउट अफ ट्रयाक’ (नियन्त्रण बाहिर) जान खोजेको छ । समुदायमा प्रवेश गर्ने सम्भावना बढेको छ । महामारीको खतरा बढेको हुनाले सम्पूर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुलाई बिनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु– कुनै पनि काम गर्दा सामाजिक दुरी कायम गरौं, मास्क लगाएर हिडौं, साबुन पानीले हात धुने वा स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्ने गरौं, अत्यावश्यक कामबाहेक हिडडुल नगरौं, भिडभाड नगरौं ।
तपाईका छोराछोरी वैदेशिक कामबाट फर्कदै हुनुहुन्छ भने स्पष्ट रुपमा भनिदिनुहोस् तपाई आएपछि अनिवार्य रुपमा क्वारेन्टाइनमा बसेर पिसिआर टेस्ट भएर नेगेटिभ रिपोर्ट आएपछि मात्र घर आउनु बाबु भनिदिनुस् ।
हामी के विश्वास दिलाउन चाहन्छौं भने जति पनि वैदेशिक रोजगारबाट फर्कदै हुनुहुन्छ, उहाँहरुलाई हामी सुरक्षित साथ ल्याउँछौं र दुःख सुख उहाँहरुलाई राख्छौं । पिसिआर टेष्ट गरेर उहाँहरुलाई कोरोना छैन भन्ने पुष्टि भएपछि मात्र पठाउँछौं । त्यसमा सबैको साथ सहयोग हुने आशा गरेका छौं ।
अनावश्यक रुपमा हल्ला गर्ने, अनावश्यक टिकाटिप्पणी गर्ने पनि हुन्छ, यसमा यथार्थ के हो भनेर बुझेर मात्र प्रतिक्रिया दिन पनि अनुरोध गर्दछु ।