
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थानीयले आफ्नै घर अगाडीको सडकमा धान दिवसको दिन १५ असारमा धान रोपेपछि अहिले बजारमा मात्र नभएर जिल्लाभरी चर्चा र विवाद चुलिएको छ ।
कतिपयले विकास नभएपछि व्यंग्यात्मक विरोध गरेर ठिक गरेको तर्क गरेका छन् भने कतिपयले आफ्नै घर अगाडी आगनको सोलिङ भएको सडकमा धान रोपेर चर्तिकला देखाएको बताइरहेका छन् ।
संगमटोलका स्थानीयले सोमबार अस्पताल–दोर्पा दुम्ली सडक खण्डको थर्पुचोकदेखि बानियाँचोकबीचको सडकमा रोपाई गरेका थिए । हिलाम्मे सडकको स्तरोन्नतीमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको व्यंग्यात्मक रोपाईमा सहभागीकाे भनाई छ ।
असन्तुष्ट स्थानीयले भगत आचार्य, किशोर आचार्य, सन्तोष आचार्य, बाबुराम आचार्य लगायतको घर अगाडिको सडकमा धान रोपेर बिरोध जनाएका थिए ।
तर, अर्का स्थानीय हरिबोल आचार्य भने त्यो सडक हिलाम्य नभएर पुरै सोलिङ भएको बताउँदै आफ्नो घरसम्मै सोलिङ रहेको र ढलान भइरहेको सडकमा रोपाई गरेर गलत काम गरेको दाबी गर्छन् । ‘म दिनमा पटक-पटक हिडडुल गर्छु स्थानिय आँफैले घडेरी सम्याए र माटो सडकमा पर्यो त्यसरी धान रोप्नेले त्यहि समय हिलो फालेको भए या जसले सडकमा माटो हाल्यो, हाल्न रोकेको भए यस्तो हुदैन थियो गलत बाटो कोहि नलागौ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले राज्यको सडक भन्दा पनि आफ्नो आगन हो भनेर सोच्नु पर्ने बताउँदै आगन बनाउन नसक्नेले धान रापेको र त्यहि धान रोपेको ठाउँ ढलान पनि हुँदै गरेको जनाएका छन् । ‘धान रोपेदेखि बसपार्कसम्म पुरै सडक सोलिङ छ मेरो घर नजिक आसपास नि सोलिङ छ हेर्न आए हुन्छ हामीले कसरी संरक्षण गरिरहेका छौ । म जो स्थानको स्थानिय नागरिक भएकोले यति लेखे- परि आए धान रोपेको ठाउँमा जाउला र कति भासिदो रहेछ सोलिङ रहेछ रहेनछ हेरौला ।’ उनले चुनौती दिँदै लेखेका छन् ।
उपभोक्ता समितिमाथि प्रश्न
आचार्यले उपभोक्ता समितिमाथि कारबाहीको माग समेत गरेका छन् । उनले सोलिङमाथि स्थानीयले घडेरी खार्दा माटो फालेर सडक बिग्रिएको दाबी गर्दै आफ्नै बुवा उपभोक्ता समितिको अध्यक्ष भएर सोलिङ गरेको सडकमा छोराले बाउसे गरेको जनाएका छन् । उनले उपभोक्त समितिलाई कारबाही गर्न माग समेत गरेका छन् । तर, एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता दिनेश वाम्बुले भने उपभोक्ता समितिका अध्यक्षका छोरालाई दोष दिन नहुने भन्दै यो विकासका लागि पाइला चाल्ने चेतनाको अभियान भएको तर्क गरेका छन् ।
नगर एक्लैको प्रयासले मात्र बिकास सम्भव छैन
खोटाङ निवासी अर्का सामाजिक प्रयोगकर्ता विजय लुइटेल नगर एक्लैको प्रयासले मात्र विकास सम्भव नहुने बताउँछन् । ‘नगरलाई मात्र दोष दिएर यसको समाधान हुदैन, समन्वय र सहकार्य मूल कुरा हुन्, त्यस क्षेत्रका उपभोक्ताले पनि जान्नु पर्छ ।’ उनले भनेका छन् ।
उनले हाम्रो समाजमा राम्रा कुराको कम र नराम्रा कुराको बढी प्रचार हुने गरेको भन्दै आफ्नु आगन आफैं पनि सुन्दर बनाउन सकिनेमा नाटक बढी भएको तर्क गर्छन् । ‘सरकारको मात्र आश गर्नु ठिक हैन, यति काम गर्न सक्ने क्षमता भएका मान्छे त्यहाँ नभएका पनि हैनन् ।’ उनले भनेका छन् ।
अर्का, सामाजिक सञ्जाल प्रयोगकर्ता मोहन भट्टराई बर्सेनि संघिय बजेट परिरहने सडक भएको बताउँदै त्यसमा दोष कस्को हो भनेर खोजी गर्नु भन्दा जो नजिक छ उसैलाई गालि गर्ने प्रबृति रहेको बताउँछन् ।
कविता कार्की भने लकडाउनमा विकासको काम रोकिएकोतर्फ संकेत गर्दै असार १५ मा नाटक गरिएको तर्क गर्छिन् । ‘सायद लक्डाउनले गर्दा होला अनेकन चर्तीकला हेर्न सुन्न पर्या छ ।’ उनले लेखेकी छिन् ।