खोटाङ, १७ कात्तिक । खोटाङको च्यास्मीटार–४ दाल्फुस्थित सिर्जनात्मक एकता युवा सेवा समाजले तिहारको अवसरमा गाउँ सरसफाई गरेको छ । तिहारको अवशरमा आपसमा शुभकामना आदान प्रदानकासाथमा समाजमा आवद्ध युवाको अगुवाईमा आईतबार चिउरीबोटदेखि खुच्यापुसम्मको गल्ली र गोरेटो सरसफाई गरिएको छ ।
‘स्वच्छ वाताबरण, स्वच्छ दिपावली’ भन्ने नारा सहित गाउँको बाटो सरसफाई गरिएको समाजका सचिव लेखराज राईले बताए ।
समाजले गोरेटो बाटो मर्मत गर्दै वरपरका झारझाडी फाँडेर सरसफाई अभियान चलाएका हुन् । वर्ष दिनपछि भेटघाट गर्न र रमाईलो गर्न आउने चेलीबेटीको स्वागतमा गाउँको स्वच्छता र सुन्दरताकालागि बाटो सरसफाई गरिएको समाजले जनाएको छ । समाजले यसअघि दशैंको अवशरमा घरडाँडादेखि खेलमैदानसम्मको बाटो सरसफाई गरेको थियो ।
यस्तै, तिहारको अवशरमा सदरमुकाम दिक्तेलको बरगाछी, अस्पतालचौकमा रहेको मूल धारा लगायतका स्थानमा सरसफाई गरिएको छ । दिक्तेल बाल क्लवका सदस्य तथा स्थानीय किशोरको सहभागीतामा मूल धारा, चोक र बाटो सरसफाई गरिएको हो ।