
खोटाङ । खाद्य बालीमा एकै पटक ठूलो मात्रामा विनाश निम्त्याउन सक्ने सलह किरा खोटाङमा पनि देखिएको छ । भारतको पन्जाब, हरियाणा, राजस्थान र गुजरात हुँदै उत्तर प्रदेशका विभिन्न भागमा गत महिनामै देखा परेको सलह शनिबार तराईका विभिन्न भागमा प्रवेश गरेको थियो । आइतबार खोटाङकाे केही भुभागमा पनि सलह किरा देखिएको किसानहरुले बताएका छन् ।
ट्यांग्रा प्रजातिअन्तर्गत पर्ने सलहले सबै प्रकारका बाली, बोटबिरुवा र हरिया रूख सखाप पार्छ । रूखका बोक्रा र डाँठसमेत खाइदिने भएकाले यसलाई विनाशकारी कीरा प्रजातिका रूपमा लिने गरिन्छ ।
सलहको संख्या लाखौं वा करोडौं हुन्छ । सलह धेरै संख्यामा ठूलो क्षेत्रलाई ढाकेर बस्ने र उड्ने भएकाले यसलाई नियन्त्रण गर्न विश्वमै चुुनौती बनेको छ । सलह १ सयदेखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्छन् । एउटै समूहमा ४ देखि ८ करोड हुने भएकाले ३५ हजार मानिसलाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छन् ।
टिन ठटाएर, विषादी छर्केर, धूवाँ वा गुइँठा बालेर र ठूला कपडालाई जालका रूपमा प्रयोग गरेर सलहलाई नियन्त्रण गरिनुपर्ने विज्ञहरु बताउँछन् ।
कीरा प्रजातिमा विद्यावारिधि गरेका नेचुरल हिस्ट्री म्युजियमका इशान गौतम सलहमा अत्यधिक प्रोटिन र कार्बोहाइड्रेट हुने भएकाले मान्छेले खाँदा पनि स्वास्थ्यका लागि राम्रो हुने बताउँछन् ।