खोटाङ असार–१२,   वर्षायाम सुरु भएसँगै निम्तिने प्राकृतिक विपत्तिबाट वच्न तथा वचाउन खोटाङमा विपद जोखिम न्यूनिकरणका लागि सुरक्षा सचेतना अभियान सुरु गरिएको छ । बाढी, पहिरो तथा डुवान लगायतका प्राकृतिक विपत्तिबाट जीउधनको रक्षा गर्न तथा गराउन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुक्रबारदेखि सुरक्षा सचेतना अभियान सुरु गरिएको हो ।

वर्षाका कारण उत्पन्न हुने विपत्ति वाहेक भूकम्प, आगलागी, सितलहर, हिमपात जस्ता विपद तथा जोखिमवाट सुरक्षित गराउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले दिक्तेलवजारवाट अभियान थालेको समुदाय प्रहरी जिल्ला समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बतानुभयो । सुरक्षा सचेतना अभियानका क्रममा खोटाङका ४२ हजार ६ सय ४७ घरधुरीमा पुगेर सुरक्षा सचेतना सम्वन्धी सचेतनामुलक पुस्तिका वितरण गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाको भनाई छ ।

भूकम्प, आगलागी, पहिरो, बाढी तथा डुवान लगायतका प्राकृतिक विपत्तीबाट सर्वसाधारणको जीवन बचाउका लागि हरेक घरमा एक÷एक प्रति सचेतनामुलक पुस्तिका पु¥याउने लक्ष्यका साथ अभियान थालिएको हो । जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहको सहयोगमा २२ हजार पाँच सय घरपरिवारलाई पुग्ने सचेतनामुलक पुस्तिका प्रकाशन गरिसकिएको छ ।

अन्य स्थानीय तहको सहयोगमा थप पुस्तिका प्रकाशन गरिने डिएसपी चिमरियाले बताउनुभयो । सचेतनामुलक पुस्तिका समुदाय–प्रहरी पालिका समिति, वडा समिति र टोल समितिमार्फत घर–घरमा वितरण गरिने जानकारी दिइएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन गरिएको कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, जिल्ला समन्वय समितिकी उपप्रमुख गोमादेवी खत्री, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी लगायतले विपद जोखिम न्यूनीकरणका लागि सुरक्षा सचेतना अभियान अन्तरगत वितरण हुने पुस्तिका अध्ययन गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख रिजालले डिएसपी चिमरियालाई सचेतनामुलक पुस्तिका हस्तान्तरण गर्नुभएको छ ।