
खोटाङ असार–११,
खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित करेन्टाइनमा रहेका नागरिकलाई पशु सरह व्यवहार भएको भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराईएको छ । गाउँभन्दा टाढा रहेको खेतस्थित खुल्ला आकाश देखिने, खरले छाएको तथा भत्किएर जीर्ण भएको कटेरोमा निर्मित क्वारेण्टिनमा नागरिलाई राखिएको भन्दै ध्यानाकर्षण गरिएको हो ।
धादिङवाट गाउँ फर्किएका ४० बर्षिय कपुर परियार, ३८ वर्षिया सानुका परियार, १६ वर्षिया मीना परियार, ८ वर्षिया रेजिना परियार र ३ वर्षिया प्रतिक्षा परियार लगायत ८ जनालाई जीर्ण क्वारेण्टिनमा राखिएको भन्दै नेपाली कांग्रेस गाउँ कार्य समिति खोटेहाङ गाउँपालिकाले विहिवार ध्यानाकर्षणपत्र जारी गरेको हो । धादिङमा ज्याला मजदुरी गर्दै आएका ५३ बर्षीय देबबहादुर राई, १८ वार्षिय टलेज राई र ८ वर्षिय मनोज राई पनि असार ३ गते सँगै गाउँ फर्किएका थिए ।
गाउँपालिकाको अध्यक्ष प्रदिप राईलाई बुझाईइएको ध्यानाकर्षणपत्रमा वडाध्यक्ष गोपिकृष्ण राईको निर्देशनमा बिगत ९ दिनदेखि जीर्ण भौतिक व्यवस्थापनमा खाद्यान्न तथा लत्ताकपडा समेत उपलव्ध नगराईको उल्लेख छ । क्वारेण्टिन वरिपरि झाडि–पोथ्रा भएको, बर्षातको समयमा सर्प र खजुरको जोखिम भएको, खाद्यान्न र लत्ताकपडा उपलब्ध नभएको लगायतका विषयमा ध्यानाकर्षण गराईको छ ।
कांग्रेस गाउँ सचिव लोकराज ढकालको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा मापदण्ड अनुरुपको क्वारेण्टिन निर्माण गर्नुपर्ने तथ क्वारेन्टिनमा बसिरहेका नागरिकको नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने उल्लेख छ । नागरिकलाई यथोचित खानपान र लत्ताकपडा व्यवस्था गर्नुका साथै मानव अधिकार सुनिश्चित गरि उपयुक्त र व्यवस्थित स्थानमा क्वारेन्टिन निर्माण गरी राख्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
७ वुँदामा राखिएको मागमा क्वारेन्टिनमा बसेका व्यक्तिहरुले आफुप्रति जनप्रतिनिधि र केही व्यक्तिहरुबाट उचित मानवीय बोलि र व्यवहार नभएको गुनासो गरेको जनाईएको छ । राज्य सत्ता र शक्तिको पहुँच भएका र नभएका, धनी र गरिब भनेर विभेद नगरी समान व्यबहार बाहिरबाट पालिकाभित्र आउने नागरिकलाई क्वारेण्टिनमा राख्ने व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा सुझाव दिईएको छ ।
गाउँपालिका अध्यक्ष प्रदिपकुमार राईले भने सम्वन्धित व्यक्ति र घरपरिवारको सहमतिमै धादिङवाट आएका स्थानीयलाई उक्त स्थानमा राखिएको बुझिएको वताउनुभएको छ । धादिङवाट आउनेहरुको घर नजिकै सो घर खाली रहेको र सो स्थानमा सम्वन्धित व्यक्तिहरु वस्न चाहेकोले अन्य क्वारेण्टिन हँदाहुँदै उक्त स्थानमा राखिएको वडा कार्यालयवाट बुझिएको अध्यक्ष राईको भनाई छ ।
अध्यक्ष राईका अनुसार, ९ वडा रहेको गाउँपालिकामा एकै प्रकृतिको ७० वटा क्वारेण्टिन छन् । ९ नम्वर वडा अर्थात लिच्किराम्चेमा मात्र १० वटा क्वारेण्टिन निर्माण गरिएकाले टहरा भनिएको उक्त स्थानलाई क्वारेण्टिन नवनाईएको स्पष्ट पार्नुभएको छ । यद्यपी खाने व्यवस्था गाउँपालिकावाटै गरिएको अध्यक्ष राईको भनाई छ । आरोप लगाईए जस्तो अव्यवस्थित रुपले स्थानीयलाई नराखिएको वडा सदस्यहरुवाट जानकारी आएको अध्यक्ष राईले सनाउनुभयो ।
यदि त्यस्तो हो भने वडाध्यक्षसँग तत्कालै ‘एक्सन’ लिई सरसल्लाह र सुझावअनुसार आवश्यक सुधार गर्ने वताईएको छ । असार १० गते तोकिएको गाउँसभाकै दिन स्थानीय एक शिक्षकको निधन भएपछि असार १२ गते भईरहेकाले वडाध्यक्षसँग राम्ररी वुझ्न नपाएको भन्दै गाउँसभा सकिएपछि यसवारेमा तुरुन्तै वुझ्ने अध्यक्ष राईले सुनाउनुभयो । विपदमा आईलाग्ने समस्यालाई सवै मिलेर समाधान गर्नुपर्नेमा जोड दिँदै कमीजोरीप्रति ध्यानाकर्षण हुनु र सुझाव आउनुलाई सह्राहनीय पक्षको रुपमा लिएको गाउँपालिकाका अध्यक्षले जनाउनुभयो ।
लकडाउनको समयमा भारत लगायत विभिन्न स्थानवाट गाउँपालिका भित्रिने नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापडण्ड अनुरुप नै पु¥याउन नसके पनि आधारभूत पक्षहरुमा गाउँपालिकाले ध्यान दिईएको वताईएको छ ।