खोटाङ जिल्लामा मनलाग्दी बस भाडा असुल्ने गरेको पाइएको छ । बस व्यवसायीले सबै ठाउँको बस भाडा पारदर्शी नबनाउँदा यात्रु मारमा परेको समेत भेटिएको छ ।

दिक्तेलबाट निर्मलीडाँडाको पेलुङसम्म पुग्नका लागि ३ सय लिने गरेका छन् । तर बिच बिचमा ओर्लने यात्रुका लागि कुन ठाउँमा कति भाडा भन्ने नखुलाउँदा यात्रुसँग मनलाग्दी भाडा असुल्ने गरेको पाइएको हो । दिक्तेलबाट थोरै दुरीमा ओर्लदा समेत १८० रुपैयाँ समेत भाडा लिएको पाइएको हो ।

दिक्तेलबाट अन्य ठाउँमा जाने बसहरुमा पनि सोही समस्या रहेको पाइएको छ ।

राजधानी उपत्यका लगायतमा ठाउँ ठाउँको भाडादर बसमा नै टास्ने गरेको हुन्छ । जिल्लामा भने यस्तो भाडादर नै टास्ने नगर्दा यात्रु मर्कामा परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्रराज पौडेलले सबै ठाउँको सबै भाडा पारदर्शी हुनुपर्ने बताए । कुन ठाउँको भाडा कति हो भनेर गाडीमा नै टाँस्न पर्दछ, म यो विषयमा चाँडै कुरा गर्छु, भाडादर सबैले थाहा पाउनुपर्दछ । उनले हाम्रोखोटांगसँग भने ।
पर्वका बसको छतमा पनि कोचाकोच यात्रु
बस व्यवसायीले दशैं तिहार लगायत पर्वमा बसको छतमा पनि कोचाकोच यात्रु चढाएको पाइएको छ । कच्ची बाटोमा यात्रुको ज्यान नै खतरामा हुने गरी छतमा यात्रु चढाएको पाइएको हो । सिडिओ पौडेल भने छतमा यात्रु चढाए कारबाही हुने बताउँछन् । तर, प्रशासनले अनुगमन गर्ने गरेको पाइएको छैन ।