राससकर्मी मगरलाई ‘समृद्ध साकेला विकास पत्रकारिता पुरस्कार’

 खोटाङ असार–१०, राष्ट्रिय समाचार समिति(रासस) तथा नयाँ पत्रिका दैनिकमा आवद्द खोटाङका पत्रकार केदार मगर पुरस्कृत हुनुभएको छ । रासस लगायत अन्य सञ्चार माध्यममा एक दशक वढीदेखि निरन्तर क्रियाशील पत्रकार मगर साकेला गाउँपालिकाले स्थापना गरेको ‘समृद्ध साकेला विकास पत्रकारिता पुरस्कार २०७७’बाट पुरस्कृत हुनुभएको हो ।

पत्रकारिताको माध्यमबाट गाउँपालिकाको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान स्वरुप १० हजार १ सय रुपैंयाँ नगदसहित पुरस्कृत गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । मानेभञ्ज्याङस्थित कार्यालयमा आयोजित नवौँ गाउँसभा उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख झङ्कार, उपप्रमुख सरिता खड्का र प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले पुरस्कार प्रदान गर्नुभएको हो ।

पत्रकार मगर नेपाल पत्रकार महासङ्घ एक नम्बर प्रदेश सभाषद् तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ । खोटाङ जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील पत्रकार मगरले यसअघि तत्कालीन जिल्ला विकास समिति खोटाङले प्रदान गरेको ‘सर्वो उत्कृष्ट विकास पत्रकारिता पुरस्कार २०७२’ तथा अन्य विभिन्न विद्याका पुरस्कार एवम् सम्मान प्राप्त गरिसक्नुभएको छ ।

यसैबीच, बुधबार सम्पन्न नवौँ गाउँसभाले आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिँदै रु ३० करोड ७७ लाख ४४ हजारको नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिका उपप्रमुख खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभामा सहभागी कार्यपालिका सदस्यले सर्वसहमतीका साथ पारित गरेको हो ।

गाउँसभाले आर्थिक ऐन र विनियोजन विधेयकसमेत पारित गरेको छ । जिल्लाकै सबैभन्दा सानो पाँच वडामात्र रहेको सो गाउँपालिकाले कर्मचारीको करार अवधि थप गर्ने सम्बन्धी निर्णयलाई समेत अनुमोदन गरेको छ ।