खोटाङ, २२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएपछि खोटाङमा सुरक्षा तथा भौतिक व्यवस्थापनलाई तयारी अवस्थामा राखिएको छ ।
प्रधानमन्त्री दाहाल मंगलबार बिहान साँढे ९ बजे हेलीकोप्टरबाट सदरमुकाम दिक्तेल आउने भएपछि सुरक्षा व्यवस्थापनका साथै हेलीप्याडदेखि जिबिस हल जाने बाटो मर्मत, जिबिसको प्रांगण सजावट, सभाहल व्यवस्थापन लगायतका काम गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।
मध्यपहाडी लोकमार्ग, जिल्लाको बिकास तथा सेवा प्रबाह लगायतको अवस्था निरिक्षण अवलोकनकाक्रममा प्रधानमन्धी दाहाल खोटाङ आउन लागेको जनाइएको छ । पदमा बहाल रहेका प्रधानमन्त्री खोटाङ आउन लागेको यो तेश्रो पटक मानिएको छ ।
प्रधानमन्त्री प्रचण्ड दिक्तेल आएसँगै जिबिसको सभाहलमा हुने सर्वपक्षीय कार्यक्रममा प्रधानमन्त्री, सांसद, जिल्लास्थित राजनैतिक दलका नेता, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि लगायतबीचमा जिल्लाको बिकास निर्माण र समसामयीक बिषयमा छलफल तथा अन्तरक्रिया हुनेछ । स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले जिल्लाको बिकास निर्माणको बिषयमा ‘ब्रिफिङ’ गर्ने कार्यक्रममा जिल्लाबासीले प्रधानमन्त्री समक्ष जिल्लाको समस्यका बिषयमा छुट्टाछुट्टै मागहरु लिखितरुपमा राख्ने प्रजिअ कार्कीले जनाए । सोही कार्यक्रममार्फत प्रधानमन्त्री दाहालले सरकारी कार्यालय प्रमुखलाई सेवा प्रबाहका बिषयमा निर्देशन दिने छन् । सर्वपक्षीय छलफलपछि प्रधानमन्त्री दाहालले माओबादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओबादी केन्द्र खोटाङकी सचिव दुर्गाजयन्ती राईले बताईन् । खानासँगै प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा अंगसँग पनि छुट्टै बस्ने कार्यक्रम छ ।
पुर्वाधारको अवस्थाका बिषयमा अवलोकन गर्दै प्रधानमन्त्री दाहाल दिक्तेलबाट संखुवासभासम्म पुग्ने कार्यक्रम रहेको जानकारी आएको प्रजिअ कार्कीलले जनाए ।