खोटाङ असार–९, सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको खोटाङकी महिलाको गर्भमै बच्चा मरेको पाईएपछि हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । जिल्ला अस्पताल खोटाङमा भर्ना गरिएको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो ।
गएराति जिल्ला अस्पताल ल्याईएको मन्दिराको रक्तश्रावसमेत भइरहेकाले थप उपचारका लागि आज मंगलवार रिफर गरी काठमाण्डौं पठाईएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. नारायण बरालले बताउनुभयो । आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि थापाथलीस्थित प्रसुतिगृह रिफर गरिएको डाक्टर वरालको भनाई छ । दोस्रो पटक गर्भवती हुनुभएकी मन्दिराको तीन वर्षको छोरा समेत रहेका छन् ।
मन्दिरालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत ग्राण्डी हस्पिटलको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौँ पठाइएको जनाइएको छ ।
मन्दिराको उद्दार, उपचार लगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्तरमार्फत उद्दार गरिसकिएको छ ।