खोटाङ असार–७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिका जोड्ने मोटरेवल पुल शिलान्यास गरिएपछि स्थानीय हर्षित वनेका छन् । पुल निर्माण भई सञ्चालन भएपछि समृद्दि भित्रिने भन्दै स्थानीय हर्षित वनेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र केपिलासगढी गाउँपालिका–३ बासपानी जोड्ने तापखोलास्थित सडक पुल शिलन्यास भएपछि स्थानीयमा समृद्दिको आशा पलाएको छ । साविकको सदरमुकाम दिक्तेलबाट केपीलासगढी गाउँपालिका पुग्ने छोटो दुरीको सडक खण्डमा पर्ने तापखोलामा प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको बजेटबाट ३५ मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौंडाई हुने मोटरेबल पुलको शिलन्यास भएपछि स्थानीय हर्षित वनेका हुन् ।

१ नम्बर प्रदेश सांसद राजन राईको प्रमुख आतिथ्यमा सम्पन्न शिलन्यास कार्यक्रमका सहभागीहरुले सांसद राईले पुल निर्माणको पहल गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । राईले भने पुल निर्माणको पहल स्थानीयले नै गरेको भन्दै उल्टै धन्यवाद दिनुभयो ।

निर्माण कम्पनी रौता कन्ट्रक्सनले भ्याटसहित ७ करोड ६१ लाख २४ हजार ५ सय ४३ को लागतमा तापखोला पुल निर्माण गर्ने ठेक्का लिएको हो । २०७८ साल मंसिर ७ गते सम्पन्न गर्ने शर्तमा रौता कन्ट्रक्सनले गत जेठ ८ गते पुल निर्माणको सम्झौता गरेको थियो ।

पुल निर्माण भईसक्दा दुवैतर्फका स्थानीय तहको सडक समेत स्तरोन्नती गरिसक्नुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालको भनाई छ ।

पुल शिलान्यास कार्यक्रममा केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विणादेबी राई, केपीलासगढी गाउँपालिकाकउपाध्यक्ष हिरादेवी वन, राजनैतिक दलका नेता, प्रशासन, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।