खोटाङ असार ४ – खोटाङमा सालनाल अड्किएर समस्यामा परेकी सुत्केरीलाई सरकारले सेनाको हेलिकोप्टरमार्फत निःशुल्क उद्दार गरेको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया अनिता राई (मगर) लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरी काठमाण्डौं लगिएको हो ।

उनको उद्धारमा खोटाङका सांसद विशाल भट्टराईले सक्रियता देखाएका थिए । उद्धारपछि सांसद भट्टराईले प्रसुति गृह, थापाथलीका चिकित्सकले हस्पितल ल्याउन अलिक बिलम्ब भएको भए खतरा हुन्थ्यो भन्दा आफू छाँगाबाट खसेजस्तो भएको बताउनु भएको छ ।

सांसद भट्टराईका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलोकप्टरद्वारा सरकारले निशुल्क उद्धार गरेको हो ।

बुधवार राती करीब १ बजे सकुशल छोरी जन्माएकी अनितालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत बिहिबार अपरान्ह काठमाडौँ पठाइएको हो ।

सुत्केरी गराउन स्वास्थ्यचौकी खोटाङबजार पुगेकी अनिताले छोरीलाई सकुशल जन्म दिए पनि स्वास्थ्यमा आएको समस्या समाधान नभएपछि थप उपचारका लागि प्रसुतिगृह थापाथली पठाइएको अनिताकी आफन्त रकेट राईले बताउनुभयो ।

बन्दाबन्दीका कारण अन्य यातायातका सवारी साधन सञ्चालन नभएपछि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहलमा नेपाली सेनाको हेलिकोप्टर मगाएर सुत्केरीको उद्दार गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदिप राईले बताउनुभयो ।