खोटाङ असार–४, खोटाङको रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १ सय २७ युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो ।

बिहान ९ देखि बेलुका ५ बजेसम्म काम गरे वापत प्रतिव्यक्ति दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक दिने व्यवस्था छ । सवै वडाको हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडक मर्मतमा खटाईएको अध्यक्ष निरौलाको भनाई छ ।

छ वडा रहेको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २० लाख दुई हजार रुपैयाँ बजेट रहेको जनाइएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन बन्दाबन्दी जारी रहँदा सामाजिक दूरी कायम गर्दै वडा नं ५ मा २२ र अन्य वडामा २१–२१ का दरले युवा परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।