दिक्तेलमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । |
राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा मंगलबार खोटाङ आइपुगेका प्रधानमन्त्री दाहालले अंगीकृत नागरिकता र संविधान संशोधन सम्बन्धी ‘ड्राफ्ट’ बनाउने प्रकृया भर्खर मात्र सुरु गरिएकाले यसअघिको ‘ड्राफ्ट’ असत्य भएको दाबी गरे । हालसम्म अंगीकृत नागरिकता र संबिधान संशोधन सम्बन्धी कुनै समझदारी नभएकाले केहीदिन अघि बाहिर आएको प्रचार भ्रामक भएको प्रधानमन्त्री दाहालको भनाई छ ।
जिल्ला विकास समितिको कार्यालयमा भएको सर्वपक्षीय कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमती कायम गरेर संबिधान संशोधन गर्दै निर्वाचनमा जाने प्रमुख मुद्धामा बर्तमान सरकार केन्द्रित रहेको बेलामा ‘ड्राफ्ट’ बनिसकेको भनेर प्रचारबाजी गरिएको उल्लेख गरे । ‘ड्राफ्ट आइसक्यो भन्ने हल्ला छ, यो हो–हल्लाको पछि नलाग्नुहोला, कतिपय मिडियामा आजभोली असाध्यै अराजक तरिकाले समाचार आउने गरेका छन्, जुन धेरैजसो सत्य हुने गरेका छैनन् । त्यसको पछाडि नलाग्नुहोला,’ प्रधानमन्त्री दाहालले भने, ‘पहिल्यै भइसक्यो रे, यो हुने भयो रे, त्यो हुने भयो रे भन्नेजस्ता प्रचारबाजी गरिएका छन्, त्यो सत्य होइनन् ।’ यस सम्बन्धी ‘ड्राफ्ट’ बनाउने प्रकृया सोमबारबाट मात्र सुरु गरिएको दाहालले जनाए ।
दोलखामा निर्माणाधीन ४५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमनपछि दिक्तेल आएका प्रधानमन्त्री दाहालले सर्वस्वीकार्यता बढाउनका लागि राष्ट्रिय सहमतीबाटै संबिधान संशोधन गर्ने पहल भइरहेको बताए । आन्तरिक राष्ट्रियतालाई एकताबद्ध बनाएर देशलाई निर्वाचनमा लैजानकालागि राष्ट्रिय सहमती र संबिधानलाई सर्वस्वीकार्य बनाउनुको बिकल्प नरहेको दाहालले बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा सरकारको ध्यान केन्द्रित छ,’ प्रधानमन्त्री दाहालले भने, ‘देशमा राष्ट्रिय सहमती बन्दै गएको छ । सत्तापक्ष र प्रतिपक्षकाबीचमा सकरात्मक छलफल भएका छन् । मधेसी, थारु, आदिबासी जनजातीसँग पनि छलफल गरेर राष्ट्रिय सहमतीमै संबिधान संशोधन गर्ने वाताबरण बनाउनमा सरकार लागेको छ ।’ एकताबद्ध भएर मात्रै राष्ट्रका अगाडि रहेका समस्या र चुनौतीको सामना गर्ने सकिने भन्दै दाहालले सरकार पुःर्ननिर्माणलाई गति दिन, छिमेकीसँगको सम्बन्धलाई सुधार गर्न, बिकास निर्माणलाई गति दिन, देशबिदेशमा रहेका युवाको मागलाई सम्बोधन गर्ने कुरामा सरकारको ध्यान केन्द्रित रहेको बताए । उनले समयमै तोकिए अनुशार आयोजना सम्पन्न गर्न सम्बन्धित सबै कार्यालयका प्रमुख र कर्मचारीलाई निर्देशन दिए । उनले संसदमा समेत कम्तीमा पनि ८० प्रतिशत खर्च गर्नु भनेको उल्लेख गरे । ‘दुर्भाग्य हामीसँग पैसा हुन्छ, सरकारले खर्च गर्न सक्दैन,’ प्रधानमन्त्री दाहालले भने, ‘यो भन्दा लाजमर्दो कुरा अरु हुन सक्दैन ।’
प्रधानमन्त्री दाहाल निमित्त मूख्या सचिव टंकमनी शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव लगायत सहित दिक्तेल आएका हुन् । प्रधानमन्त्रीलाई खोटाङ जोड्ने दुधकोसीको पुल निर्माण, जयराम–दिक्तेल–चखेवा सडक कालोपत्रे, दुधकोसी जलबिद्युत आयोजनालाई राष्ट्रिय गौरबको आयोजनामा समाबेश गर्न, भ्रष्टाचार र ढिलासुस्तीका बिषयमा ध्यान दिन, हलेसीको गुरुयोजना लागू गर्न लगायतका माग राख्दै जिल्लाका राजनैतिक दल, उद्योग बाणिज्य संघले प्रधानमन्त्री दाहाल समक्ष छुट्टाछुट्टै लिखित माग राखेका छन् । संघीय समाजबादी फोरमले भने दाहाल समक्ष छुट्टै माग राखेका थिए । जिल्लामा बहालवाला प्रधानमन्त्री २० वर्षपछि आइपुगेका हुन् ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले खोटाङको भौतिक अवस्थाका बिषयमा ‘ब्रिफिङ’ गरे । प्रधानमन्त्री दाहालले नेकपा माओबादी केन्द्रका नेता तथा कार्यकर्तालाई पनि केहीबेर समय दिए । ते¥हथुमको बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने १६२ किलोमिटर लामो उत्तर–दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण र सरकारी कार्यालयका प्रमूखहरुलाई निर्देशन दिनकालागि प्रधानमन्त्री दाहाल संखुवासभा प्रस्थान गरेका छन् ।