खोटाङ, २४ कात्तिक । नेपाली कांग्रेसका नेता नेता अर्जुननरसिंह केसीले राष्ट्रियतालाई आघात पुग्नेगरी संविधान संशोधन नहुने बताएका छन् । खोटाङको पूरानो सदरमुकाम खोटाङ बजारमा कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको अग्रज भलिबल कप समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य केसीले संबिधान संशोधनीय दस्ताबेज भए पनि नेपाली जनताको सम्मान, स्वाभिमान, एकता र अस्मितालाई प्रभाबित पार्नेगरी संशोधन नहुने बताएका हुन् ।
शहरी बिकास मन्त्री रहेका नेता केसीले एमाले, मधेसी मोर्चा लगायतलाई समेटेर संबिधानलाई संशोधन गर्दै कार्यान्वयनको पक्षमा जानुपर्ने आवश्यकता औंल्याए । ‘संबिधान परिवर्तनीय छ, तर यसको आधारभुत सिद्धान्त परिवर्तन हुँदैन,’ हेलीकोप्टरबाट आएको केसीले भने, ‘तर, नेपाली जनताको स्वाभिमान, सम्मान, एकता र अस्मितालाई नै खतरामा पार्नेगरी संबिधान संशोधनका निम्ति कांग्रेस तयार छैन ।’ संबिधान कर्यान्वयन नभए देश अस्थिरता, संबिधान बिहिनताको दिशामा जाने र दुर्घटनामा फस्ने नेता केसीको चेतावनी थियो ।
केसीले बिदेसी नागरिकलाई पनि प्रधानमन्त्री बनाउने बाटो खोल्न कांग्रेस लागेको हल्ला फैलाइएको भन्दै त्यसको खण्डन गरे । उनले अंगीकृत नागरिकलाई देशको उच्चपद दिने बिषय स्वीकार्य नभएको जनाए । ‘बिदेसी नागरिकलाई प्रधानमन्त्री बनाउने बाटो खोल्ने पक्षमा कांग्रेस लागेको छैन, हल्लाले मात्र हुँदैन,’ केसीले भने, ‘कांग्रेस राष्ट्रबादको पाठ हो, प्रजातन्त्रको पाठ हो, एकताको पक्षमा संघर्ष गर्दैआएको पार्टी हो ।’ नेता केसीले धार्मिक तथा पर्यटकीयस्थल हलेसीको पर्यटक प्रबद्र्धनकालागि पहल गर्ने, खोटाङबजारको ढल व्यवस्थापन, कृष्णप्रसाद भट्टराई स्मृति भवन निर्माण लगायतका बिकास निर्माणमा सहयोग गर्ने आश्वसन दिए ।