खोटाङ, २४ कात्ति । हरिवोधनी एकादसीको अवसरमा खोटाङको पर्यटकीयस्थल बराहपोखरीमा ठूलो मेला सुरु भएको छ । बराहपोखरीमा एकादसीको दिन ठूलो मेला लाग्ने भएपनि अघिल्लो दिन बुधबार नै भव्य मेला सुरु भएको हो । 
बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा बाहिरबाट आएका दर्शनार्थीको बाक्लो घुँईचो लाग्ने गरेको छ । बराहपोखरीमा बिशेषगरी हरिवोधनी एकादसीको दिन र त्यसको अघिल्लो रात ठूलो मेला लाग्ने गरेको महन्त गोविन्द गिरीले वताउनुभयो । खोटाङ बाहेक उदयपुर र भोजपुरबाट दर्शनार्थी आउने मेला अवधिभर बालन र संगिनी नाच्ने प्रचलन छ । बराहपोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता अनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीहरुको भिड लाग्ने गर्दछ । 
बराहपोखरीमा लागेको मेलामा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन् भने दर्शनार्थीले हजारौं जोडी परेवा उडाउने गरेका छन् । प्रत्येक हरिबोधनी एकादशीका दिन मेला लाग्ने पोखरीको पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरी आफ्नो पितृको संझनामा भजन कृर्तन र रुद्रीपाठ गरिन्छ । बराहपोखरी गाबिसमा रहेको बराहपोखरीमा हरेक रामनवमी, शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्तीका दिन सतबीज छर्ने चलन छ ।