खोटाङ जेठ–२९, भारतका विभिन्न स्थानवाट खोटाङको जन्तेढुंगा गाउँपालिका आएका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर पठाइएकामा बिहिबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताउनुभयो ।

जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका आरडिटी रिपोर्ट पोजिटिभ देखिएका एक जना र दाङबाट आएका दुई कर्मचारीको पिसिआर रिपोर्ट पनि नेगेटिभ देखिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउनका लागि ९१ जनाको आरडिटी परीक्षणका क्रममा चिसापानीका एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । नियमित गाउँमै बसिरहेको भए पनि उनको आरडिटी रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले जनाउनुभयो ।

यसअघि, जन्तेढुंगा गाउँपालिकाका संक्रमणको आशंका गरिएको पाँच जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here