
खोटाङ जेठ–२९, वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा ज्यान गुमाएका खोटाङस्थित साकेला गाउँपालिका–३ खिदिमाका कुलबहादुर खत्रीको मलेसियामै दाहसंस्कार गरिएको छ । कोरोना भाईरसका कारण जारी गरिएको ‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा खत्रीको मलेसियामै दाहसंस्कार गरिएको हो ।
गत चैत २५ गते ज्यान गुमाएका खत्रीको शवलाई स्वदेश ल्याउने लामो प्रयास असफल भएपछि मलेसियामै दाहसंस्कार गरिएको उनका भतिजा तिलाबहादुर खत्रीले बताउनुभयो । जेठ २२ गते विदेशमै खत्रीको दाहसंस्कार पछि घरमा रहेका मृतकका छोरा मृत्यु संस्कारमा बसेको आफन्तले बताएका छन् । ‘लकडाउन’का कारण खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको थियो ।
खत्री प्लान्टेसनको कामका लागि राज ओभरसिज प्रालि काठ्माण्डौंबाट तीन वर्षअघि मलेसिया पुगेका थिए । पेटालिङ जया सेलाङगोरस्थित साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्नेक्रममा बाईक दुर्घटना हुँदा उनको मृत्यु भएको बताइएको छ ।
बसिरहेको कोठाबाट केही समयका लागि भनेर बाहिर निस्किएका खत्री पानीको नहरमा बाईकसँगै डुबिरहेको अवस्थामा फेला परेका थिए । उनले मोबाईल भने कोठामै छाडेर गएको उनका साथीहरुले बताएका छन् ।
फेसबुक अनलाईनमा देखेर बोलाउँदा जवाफ नआएको र फोन गर्दा अरुले नै फोन उठाएर घटनाका बारेमा जानकारी दिएको आफन्तले बताएका छन् । कतारमा दुई वर्ष बिताएका खत्री पुनः मलेसिया पुगेका थिए । मृतक खत्रीका श्रीमति सहित पाँच छोरी र दुई छोरा छन् ।
भिजिट भिषामा विदेश पुगेका तामाङको दुवईमै दाहसंस्कार
भिजिट भिसामा यूएई (दुबई) पुगेर उतै ज्यान गुमाएका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदिप तामाङको पनि यूएईमै दाहसंस्कार गरिएको छ । गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो ।
परिवारले जसरी पनि शव घरसम्म ल्याउने वाताबरणका लागि हारगुहार मागे पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा तामाङको शव स्वदेश फर्काउन नसकिएपछि उतै दाहसंस्कार गरिएको हो । कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव लामो समयसम्म रसिदिया अस्पताल दुबईमा राखिएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । सुदीप परिवारका एक्लो छोरा हुन् ।
भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग नगरेको यूएईमा रहेका नेपालीको गुनासो छ । रोजगारीका सिलसिलामा यूएई पुगेको केही दिनमै उनको मृत्यु भएको हो ।