खोटाङ, २४ कात्तिक । नेकपा एमाले खोटाङले संबिधान कार्यान्वयनकालागि दवावमुलक कार्यक्रम सुरु गरेको छ ।
‘संविधान कार्यान्वयनकालागि जनपरिचालन’ अभियानको नाममा एमालेले संबिधान कार्यान्वयन एबं निर्वाचनको तयारीका बिषयमा दवावमूलक कार्यक्रम सुरु गरेको हो । कार्तिक २१ गते बसेको पाँचौं पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न एमालेले बुधबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा दवावमूलक कार्यक्रम सुरु गरिएको जानकारी दिएको छ ।
एमाले जिल्ला अध्यक्ष बबी चामलीङले नयाँ संबिधानको अन्तरबस्तुका विषयमा जानकारी गराउँदै राष्ट्रिय समस्या र समाधानका बिषयमा सर्वसाधारणलाई स्पष्ट बनाउन अभियान सुरु गरिएको जानकारी दिए । ७२ गाबिस, एक नगरपालिका र १३ ईलाका रहेको जिल्लामा ‘संबिधान कार्यान्वयनकालागि जनपरिचालन’ कार्यक्रम सञ्चालनकालागि बिभिन्न २१ यूनिट बनाइएको एमालेले जनाएको छ । भातृ संगठन, बुद्धिजिबी, सहकारी, गैर–सरकारी संस्था, उद्योग तथा बाणिज्य, सामुदायीक बन, विद्यालय व्यवस्थापन समिति लगायतको यूनिट बनाइएको छ । घरदैलोमा पुगेर संबिधानप्रतिको नकरात्मक धारणामा परिवर्तन ल्याउन संबिधानको प्रारम्भिक व्यवस्था, मुलभुत प्रावधान, आत्मसाथ गरेका मूल्या, मान्यता र सिद्धान्तका बिषयमा जानकारी दिँदै संगठन निर्माणका काम गरिने उपाध्यक्ष राम दंगालले बताए ।
अभियानकाक्रममा जनतालाई निर्वाचनको तयारीमा लाग्न समेत उत्साहित गरिने जनाइएको छ । अभियानकालागि एक जना अभियानकर्ता, दुई जना सहअभियानकर्ता र एकजना सहजकर्ता तोकिएको अध्यक्ष चामलीङले जनाए । १ नम्बर ईलाको अभियानकर्ताको जिम्मा सचिव देबबिक्रम राईलाई दिइएको छ भने अन्य ईलाकाको अभियानकर्ताको जिम्मेवारी भने सचिवालय र जिल्ला सदस्यले पाएका छन् । पुस १५ मा अभियानको मध्यअवधि समिक्षा गर्ने एमालेले जनाएको छ । संबिधानका बिषयमा फैलाइएका कतिपय भ्रम चिर्दै राष्ट्रिय एकता र अखण्डतालाई जोगाउन संबिधान कार्यान्वयनकालागि अभियान थालिएको पुर्वसांसद उषाकला रार्ईले बताईन् ।
एमालेले ‘एक गाबिस एक भवन’, कार्यकर्ता संरक्षण कोष लगायतका योजना कार्यन्वन गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।